काठमाडौँ – नेपाली कांग्रेसका प्रभावशाली नेता गगनकुमार थापाले पार्टीका प्रतिनिधिहरूलाई पुस्तौँसम्म पछुताउनुपर्ने गल्ती नगर्न आग्रह गरेका छन्। पहिलो चरणको मतदानबाट नेपाली कांग्रेसको सभापतिको टुंगो नलागेपछि भइरहेको दोस्रो चरणको मतदान अगाडी थापाले यस्तो आग्रह गरेका हुन्।
डा शेखर कोइरालाको पक्षमा मतदान गर्न अपिल गर्दै विद्यमान नेतृत्वको निरन्तरताका विपक्षमा उभिन नेपाली कांग्रेसका प्रतिनिधिहरूलाई नेता थापाले आग्रह गरेका छन्।
थापाले अपिल जारी गर्दै भनेका छन्,”तपाईंहरुले पार्टी रुपान्तरणको लागि देखाउनुभएको यो अदम्य साहस र आँटको म खुलेर प्रशंशा गर्दछु। सभापति चयनका लागि दोस्रो चरणमा पुग्नु भनेको विद्यमान नेतृत्वको निरन्तरताका विपक्षमा तपाईंको चाहना हो भन्ने म ठान्दछु।”
देशभर छरिएर रहेका कांग्रेसजन, शुभेच्छुक तथा आम जनताले नेपाली कांग्रेसका प्रतिनिधिहरुसँग असाधारण निर्णय लिनसक्ने क्षमता, साहस र त्यागको अपेक्षा गरिरहेको पनि थापाले बताएका छन्।
“देशभर छरिएर रहेका कांग्रेसजन, शुभेच्छुक तथा आम जनताले आज त्यस्तो निर्णय लिनसक्ने क्षमता, साहस र त्यागको अपेक्षा गरिरहेका छन्। इतिहासको आह्वानलाई स्वीकार्दै आम अपेक्षा अनुरुप कांग्रेस पुनर्जागरण र रुपान्तरणको यात्रा यो महाधिवेशनबाट तय गर्न सक्नुपर्छ। त्यसको आरम्भ आज तपाईंको मतमार्फत् हुनेछ भन्नेमा म विश्वस्त छु।”,थापाको भनाई छ।
यस्तो छ थापाको अपिल :
आदरणीय महाधिवेशन प्रतिनिधिज्यूहरू,
नेपाली कांग्रेस १४औं महाधिवेशनको दौरान हिजो सम्पन्न निर्वाचनमा तपाईंहरूले पार्टी रुपान्तरण र नेतृत्व परिवर्तनका पक्षमा देखाउनु भएको उत्साह र उपस्थितिले अब पार्टी नयाँ ढङ्गले अगाडि वढ्नुपर्छ भन्ने कुराको स्पष्ट संकेत गरिसकेको छ । तपाईंहरुले पार्टी रुपान्तरणको लागि देखाउनुभएको यो अदम्य साहस र आँटको म खुलेर प्रशंशा गर्दछू । सभापति चयनका लागि दोस्रो चरणमा पुग्नु भनेको विद्यमान नेतृत्वको निरन्तरताका विपक्षमा तपाईंको चाहना हो भन्ने म ठान्दछु । अब त्यो चाहनालाई मतपत्र मार्फत प्रकट गर्ने क्षण आएको छ ।
नेपाली कांग्रेसको राजनीतिक जीवनमा यो अत्यन्त दुरगामी महत्वको निर्णय गर्ने क्षण हो । यस घडीमा इतिहासले हामीसंग त्यही असाधारण निर्णय लिन आव्ह्वान गरिरहेको छ । देशभर छरिएर रहेका कांग्रेसजन, सुभेच्छुक तथा आम जनताले आज त्यस्तो निर्णय लिनसक्ने क्षमता, साहस र त्यागको अपेक्षा गरिरहेका छन । इतिहासको आव्हानलाई स्वीकार्दै आम अपेक्षा अनुरुप कांग्रेस पुनर्जागरण र रुपान्तरणको यात्रा यो महाधिवेशनबाट तय गर्न सक्नुपर्छ । त्यसको आरम्भ आज तपाईंको मतमार्फत हुनेछ भन्नेमा म विश्वस्त छु ।
महाधिवेशन लगत्तै हामी तीन तहको निर्वाचनमा होमिनुपर्नेछ, त्यस निर्वाचनमा पार्टीले एक्लै जित्ने वनाउन लाखौं मतदातालाई आकर्षित गर्नु पर्दछ, त्यसको लागि नयाँ उत्साह र जागरण आवश्यक छ। हामीले आज त्यो उत्साहको संचार गर्न सक्नैपर्छ । संविधान कार्यान्वयनको सफल नेतृत्व गर्न, राजनीतिमा देखिएका अनेकन वेथितिको अन्त्य गर्न र पार्टीलाई विधि र थितिमा वदल्न पनि नेतृत्वमा परिवर्तन अपरिहार्य छ ।
के अहिलेकै शैली र नेतृत्वको निरन्तरताबाट त्यो भूमिका संभव होला त ? हामी सँग धेरै अलमल गर्ने समय छैन, तत्काल हामीले निर्णय लिनुपर्नेछ । आफ्नो अन्तरमनको आवाज सुनेर निर्णय गर्ने बेला आएको छ । विगतमा बीपी कोइरालाले अनेक पटक अन्तरमनको आवाज सुनेर यस्तै निर्णय गर्नुहुन्थ्यो, गणेशमान सिंह पनि त्यसको अपवाद हुनुहुन्थेन। आजको गलत निर्णयले हामीले आगामी चार वर्ष मात्र होइन अझै लामो समय पछुताउने पर्नेछ । इतिहासमा गल्ती एक क्षणको हुन्छ तर पुस्तौं ले पछुताउनु पर्दछ । त्यसैले हामीलाई त्यो गल्ती गर्ने छुट किमार्थ पनि छैन।
‘समुन्नत नेपाल सम्मानित नेपाली’ को सपना, यो पुरा गर्नका लागि चाहिने वैचारिक स्पष्टता, त्यसका लागि चाहिने सांगठनिक आधार र जुझारु नेतृत्व कांग्रेसले दिन सक्छ कि सक्दैन यो नै १४औं महाधिवेशनको मुल चुनौती हो । यो पटक हामी चुक्यौं र समयले सुम्पेको कार्यभारलाई हामीले आफ्नो कार्मद्वारा प्रमाणित गर्न सकेनौं भने इतिहासले हामीलाई क्षमा गर्ने छैन।
त्यसैले, आज निर्णय गर्ने बेला आएको छ, तपाईंको एक भोट आज यो मतदानको लाईनमा आउन नसकेका ती तमाम नेपालीको सपना र आशासँग पनि जोडिएको छ । तपाईंको विवेकपूर्ण एक मत हाम्रो पार्टी र मुलुकको भविष्य बदल्ने प्रस्थान-विन्दु हुनेछ । एकपटक आफ्नो हृदयलाई सोधेर, हाम्रा अग्रजहरूको बलिदान र भावी संततिका सपनाको स्मरण गर्दै विवेकपूर्ण निर्णय गर्न र पार्टी रुपान्तरणको लागि डा. शेखर कोइरालालाई आफ्नो अमूल्य मत दिएर सभापति पदमा विजयी गराउन पुन: हार्दिक अपील गर्दछु। जय नेपाल!
गगनकुमार थापा
मिति २०७८ मंसिर २८