काठमाडौँ – जागिर लगाइदिन्छु भनेर ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ। बैंकमा जागिर लगाइदिन्छु भन्दै २ लाख रकम ठगी गरेको आरोपमा एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सर्लाही ब्रम्हपुरी गाउँपालिका वडा नं २ घर भई काठमाण्डौ महानगरपालिका बबरमहल बर्दी आएका संजिव कुमार साह रहेका छन्। उनलाई माइतीघरबाट नियन्त्रणमा लिइएको महानगरीय अपराध महाशाखाले जनाएको छ।
पक्राउ परेका साहले भक्तपुरका उत्सव सुजखुलाई एभरेष्ट बैकको उपत्यका भित्रको शाखामा म्यानेजमेन्ट ट्रेनीमा जागिर लगाइदिन्छु भन्दै २ लाख ठगी गरेका थिए। विभिन्न प्रलोभनमा पारी विश्वास दिलाई ठगेर २ लाख खान लागेको भन्दै सुजखुले उजुरी दिएपछि साहलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
साहलाई महाशाखाबाट खटिएको प्रहरी टोलिले सोमबार पक्राउ गरेको हो। साहले आफूलाई अर्थ मन्त्रालयको लेखा अधिकृत बताउने गरेका थिए। पक्राउ परेका उनी माथि थप अनुसन्धान भैरहेको छ। उनलाई महानगरीय प्रहरी परिसर टेकु पठाइएको छ।

