काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लेनिन भन्दा पनि बढी जान्ने हुन खोजेको आरोप लगाएका छन्।
केहि दिन अगाडी प्रचण्डले शेयरबजारलाई साम्राज्यवादको विकसित रूप भनेको विषय प्रति टिप्पणी गर्दै ओलीले प्रचण्ड लेनिन भन्दा पनि बढी जान्ने हुन खोजेको बताएका हुन्। शेयर बजारमा लगानी गर्ने जनतालाई के कस्तो असर पर्छ भन्ने सोच बिचार नै नगरी प्रचण्डले अभिव्यक्ति दिएको ओलीको भनाई छ।
त्यस्तै ओलीले प्रचण्डलाई शेयर कारोबारीले चन्दा नदिएको झोंकमा त्यस्तो भनेको हुन सक्ने आरोप पनि लगाएका छन्। एमालेका ४४ केन्द्रीय सदस्यहरुलाई च्यासलमा शपथ दिलाउने क्रममा ओलीले प्रचण्ड अर्थतन्त्र नबुझी बोलेको आरोप लगाए।
“प्रचण्डले केही दिनअघि बडो क्रान्तिकारी भएर शेयर बजारलाई साम्राज्यवादीको विकसित रुप भनेछन्। लेनिनभन्दा दुई स्टेप बढ्ता जान्ने भएछन्। लेनिनले यसअघि पुँजीवाद विकसित भएर साम्राज्यवाद हुन्छ भनेका थिए। तर प्रचण्डले त शेयर बजारलाई साम्राज्यवादको विकसित रुप नै भनिदिएछन्। लेनिनले भन्दा जान्ने भएर थेसिस नै दिएछन्। अर्थतन्त्र नबुझी बोल्दा रहेछन्।”,ओलीले भने।
ओलीले लाखौँ लगानीकर्ता भएको शेयर बजार बारे हचुवाका भरमा बोल्न नहुने पनि बताए। प्रचण्डले शेयर बजार डुबाउनको लागि बोलेको हुन सक्ने ओलीको अनुमान छ। उनले भने,”लाखौँ लगानीकर्ता रहेको शेयर बजारबारे यसरी बोल्नु हुँदैन। कुन शेयर कारोबारीले चन्दा दिएन होला अनि त्यसको रिसमा प्रचण्ड बोले। त्यही रिसमा ‘नरहे बाँस न बज्यो बाँसुरी’ भनेर शेयर बजार डुबाउन त्यस्तो बोले।”