गत महिना भएको अन्तिम छनौट खेलमा पराजित भएपछि पोर्चुगलले कतारमा हुने २०२२ को विश्वकपमा स्वत छनोट हुने मौका गुमायो। जसको कारण क्रिस्टियानो रोनाल्डोको टोलीले अब प्ले-अफको मार्फतबाट विश्वकपको यात्रा तय गर्नुपर्ने भएको छ। यस्तोमा रोनाल्डोको अन्तिम प्रमुख प्रतियोगिता हुन सक्ने विश्वकपमा उनको टोली छनोट नै नहुने खतरा बढेको छ।
त्यसमाथि रोनाल्डोको पोर्चुगलले आउँदो संस्करणको विश्वकपका लागि छनोट हुनको लागि कठिन यात्रा पार गर्नुपर्ने भएको छ। गत नोभेम्बर मै भएको ड्र मा पोर्चुगल र इटाली एकै समूहमा परेका छन्। यसको मतलब पोर्चुगल र इटाली मध्ये एक मात्र टोली विश्वकप खेल्नेछ। जसको कारण पनि साबिक युरो कप विजेता इटालीको चुनौती पार गर्नुपर्ने भएको छ।
तर यी दुई बीच पहिलो चरणमा भने भिडन्त हुने छैन। समूह सी मा परेका यी दुई टोलीले आ-आफ्नो पहिलो खेलमा इटालीले उत्तर म्यासेडोनिया र पोर्चुगलले टर्कीको सामना गर्नेछ। यदि दुबै टोलीले आ-आफ्नो पहिलो खेल जितेको खण्डमा फाइनल खेल इटाली र पोर्चुगल हुनेछ, जसको विजेताले मात्र विश्वकपको टिकट काट्नेछ भने पराजित हुने टोली घर फर्किनेछ।
यस्तोमा रोनाल्डोका लागि हाल मुख्य उदेश्य विश्वकपका लागि छनोट हुनु रहनेछ। जसपछि सायद करियरको अन्तिम विश्वकप खेल्ने रोनाल्डोको उदेश्य आफ्नो देशका लागि पहिलो विश्वकप जिताउने हुनेछ। रोनाल्डोको प्रमुख लक्ष्य कमसे कम हालका लागि विश्वकपमा छनोट हुनेछ भने अर्कोतर्फ उनका चिर-प्रतिद्वन्दी लियोनल मेस्सीको अर्जेन्टिनाका लागि प्रमुख लक्ष्य विश्वकप जित्नु हुनेछ।
दक्षिण अमेरिकी छनोट प्रतियोगिताबाट अहिलेसम्म ब्राजिल र अर्जेन्टिना कतार विश्वकपका लागि छनोट भइसकेका छन्। यस्तोमा, सन् २०१४ मा फाइनलमा पराजित भएको अर्जेन्टिनालाई मेस्सीको प्रमुख उदेश्य आफ्नो कप्तानीमा १९८६ पछि पहिलो विश्वकप जिताउन चाहन्छन्। त्यसैले, कमसे कम अहिलेको समयमा मेस्सीको मुख्य लक्ष्य विश्वकप जित्नु रहेको छ भने रोनाल्डोको प्रमुख उदेश्य पहिला आफ्नो राष्ट्रलाई विश्वकपमा छनोट गराउनु र त्यसपछि विश्वकप जित्ने सपना देख्नेछन्।

