लापोर्टाको दौडधुप, हालाण्ड बार्सिलोनामा ?

एजेन्सी – बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा क्लबका लागि भरपर्दो स्ट्राइकरको खोजिमा जुटेका छन्। लियोनेल मेस्सीले छाडेपछि आक्रमणमा धर्मराइरहेको क्लबलाई गति दिनको लागि लापोर्टा राम्रो स्ट्राइकरको खोजिमा जुटेका हुन्।

पछिल्लो समय लापोर्टा नयाँ मिसनमा जुटेका छन्। गएको केहि वर्ष देखि लगातार चर्चामा रहँदै आएका बोरुसिया डर्टमन्डका नर्वेली युवा स्टार एर्लिङ हालाण्डलाई भित्र्याउनको लागि उनले भित्र-भित्रै तयारी थालिरहेका छन्।

बार्सिलोनामा युवा खेलाडीहरुको कमि छैन। डिफेन्स र मिडफिल्डमा भरपर्न सकिने युवा खेलाडी भएपनि आक्रमण पङ्तीमा भने भरपर्दो स्ट्राइकरको कमि छ। यस्तोमा हालाण्डले क्लबको उद्धार गर्न सक्ने गति दिन सक्ने लापोर्टाले राम्रोसँग बुझेका छन्।

हालाण्डका एजेन्टसँगको त्यो भेट

विभिन्न संचार माध्यममा आएका खबर अनुसार लापोर्टाले हालाण्डका एजेन्ट मिनो राइओलासँग भेट गरिसकेका छन्। उनले इटालीमा राइओलालाई भेटेको बताइन्छ। भेटका क्रममा उनले हालाण्डका बारेमा चासो राखेका थिए।

हालाण्डलाई बार्सिलोनामा ल्याउँदा हुने खर्च बारे लापोर्टाले जिज्ञासा राखेको खेल मिडियाहरु बताउँछन्। साथै लापोर्टाले हालाण्डको रिलिज क्लज सहित अन्य जानकारीहरु राइओलासँग लिएका थिए।

त्यसक्रममा राइओलाले लापोर्टालाई हालाण्डले चाहेको पारिश्रमिक बारे जानकारी दिएका थिए भने हालाण्डलाई बार्सिलोनामा ल्याण्ड गराउँदा हुने खर्चहरु बारे पनि स्पष्ट पारेका थिए।

हालाण्डको रोलिज क्लज

जानकारीमा आएअनुसार, हालाण्ड र डर्टमन्ड बीच भएको सम्झौतामा रिलिज क्लज राखिएको छ। सो अनुसार हालाण्डले सम्झौता सकिनु अगाडी क्लब छाड्न चाहेमा अन्य क्लबले कम्तिमा ७५ मिलियन युरो तिर्नुपर्नेछ।

राइओला पनि केहि समय देखि हालाण्डका लागि नयाँ क्लबको खोजि गरिरहेका छन्। हालसालै एक अन्तर्वार्ताका क्रममा उनले हालाण्ड आउने समर ट्रान्सफर विन्डोमा बोरुसिया डर्टमुन्डबाट अन्यत्र जाने बताएका थिए। त्यसक्रममा उनले म्यानचेस्टर सिटी, बायर्न म्युनिख, रियल म्याड्रिड र बार्सिलोना जस्ता ठूला क्लबमा हालाण्ड जान सक्ने बताएका थिए।

प्रकाशित : बुधबार, मङि्सर २९, २०७८२०:३४

बार्सिलोना पुगेपछि भाग्यले छाडेको साथ: मेस्सीसँगै खेल्ने थियो चाहना, तर फुटबल नै छाड्नु पर्यो !