एजेन्सी – वेस्ट ह्याम युनाइटेडमाथि सहज जित निकाल्दै आर्सनल इंग्लिस प्रिमियर लिगको शीर्ष चारमा उक्लिएको छ । घरेलु मैदानमा आर्सनलले १० खेलाडीमा समेटिएको वेस्ट ह्यामलाई २–० ले पराजित गरेको हो ।
आर्सनलको जितमा गाव्रियल मार्टिनेली र इमिल स्मिथ रोवीले गोल गरे । दुवै गोल दोस्रो हाफमा सम्भव भएको थियो । इमिरेट्स स्टेडियममा बुधबार राति भएको खेलको ४८औं मिनेटमा गाव्रियल मार्टिनेलीको गोलबाट अग्रता लिएको थियो । उनले एलेक्सान्द्रे लाकाजेटको पासमा गोल गरेका थिए ।
६७औं मिनेटमा भ्लादिमिर कोउफल दोहोरो पहेँलो काडै खाँदै मैदानबाट बाहिरिएपछि वेस्ट ह्याम १० खेलाडीमा समेटिन पुग्यो । त्यसमै प्राप्त पेनाल्टीमा लाकाजेट चुक्दा आर्सनलले अग्रता दोब्बर पार्न सकेन ।
निर्धारित समयको खेल सकिन तीन मिनेत बाँकी रहँदा इमिल स्मिथ रोवीले गोल गर्दै आर्सनलको जित पक्का गरे । उनले बुकायो साकाको पासलाई सदुपयोग गरेका थिए ।
यो जितसँगै आर्सनलले वेस्ट ह्यामलाई १ अंकले तथा र एक खेल कम खेलेको म्यानचेस्ट युनाइटेडलाई २ अंकले पछि पार्दै शीर्ष चारमा स्थान बनाएको छ । पराजित वेस्ट ह्यामले शीर्ष चारमा उक्लने मौका गुमाएको छ ।

