एजेन्सी – इङ्लिस प्रिमियर लिगका पूर्व गोलकिपर पल रोबिन्सनले लिभरपुलका मोहम्मद सलाहलाई फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) देखि टाढा रहन सुझाव दिएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा रोबिन्सनले सलाहलाई पिएसजी देखि टाढै रहन सुझाव दिएका हुन्।
फुटबल इन्साइडरसँग कुराकानी गर्नेक्रममा रोबिन्सनले पिएसजी सलाहका लागि ठिक नहुने बताए। पिएसजी सलाहका लागि राम्रो र ठूलो चुनौती हुन नसक्ने रोबिन्सनको भनाई छ।
“मलाई लाग्दैन कि सलाहका लागि पिएसजी राम्रो गन्तव्य हुनेछ। सलाह लिभरपुलमा रहेर प्रिमियर लिग र च्याम्पियन्स लिगका लागि चुनौती दिरहेका छन्। पिएसजी उनको लागि ठूलो चुनौती हुनेछ भन्ने म मान्दिन।”,रोबिन्सनले भने।
पिएसजीले धेरै नै पारिश्रमिक दिने भएपनि सलाह त्यहाँ जान नहुने रोबिन्सनले बताए। सलाह लिभरपुलमा राम्रोसँग स्थापित भएका कारण क्लब परिवर्तन गर्ने कुरा सलाहको प्राथमिकतामा हुन नहुने रोबिन्सनको भनाई छ।
उनले भने,”हो, पिएसजीले पैसा शानदार दिन सक्छ। तर मलाई लाग्दैन कि यो उनको करियरको लागि राम्रो कदम हुनेछ। उनी अहिले लिभरपुलमा राम्रोसँग घुलमिल भएका छन् र त्यहाँ धेरै सन्तुष्ट पनि छन्। सकेसम्म उनले लिभरपुल छाड्नु हुँदैन।”
लिभरपुलले पनि सलाहलाई जान दिन नहुने रोबिन्सन बताउँछन्। उनका अनुसार सलाह जतिको खेलाडी भेट्न गार्है पर्छ। त्यसो भनिरहँदा उनले सलाह जस्तो खेलाडी माथि पिएसजीको नजर रहने बताउन पनि छुटाएनन्।
“पिएसजी फुटबलको सबैभन्दा ठूलो महाशक्ति हो। उनीहरू धेरै धनी छन् र यदि सालाहजस्ता खेलाडी उपलब्ध भएमा पछि हट्ने छैनन्। सलाहलाई यदि कसैले किन्न सक्छ भने त्यो पिएसजी हो।”,रोबिन्सनले भने।