एजेन्सी – फ्रेन्च युवा स्टार किलियन एम्बाप्पेले घरेलु लिगका साथ-साथै च्याम्पियन्स लिग जित्न आफू कटिवद्ध रहेको बताएका छन्। एक अन्तर्वार्ताका क्रममा एम्बाप्पेले पिएसजीबाट फ्रेन्च लिगका साथ-साथै च्याम्पियन्स लिग जित्न आफू कटिवद्ध रहेको बताएका हुन्।
पिएसजीको आफ्नै टेलिभिजन स्टेशनसँग कुराकानी गर्नेक्रममा एम्बाप्पेले व्यक्तिगत रुपमा धेरै गोल गर्ने भन्दा पनि टीमको रुपमा च्याम्पियन्स लिग जित्ने कुरा सबै भन्दा बढी महत्वपूर्ण हुने बताए। धेरै गोल गरेपनि उपाधि विहिन् हुनु बेकार हुन जाने एम्बाप्पेको भनाई छ। अन्तर्वार्ताका क्रममा एम्बाप्पेले गएको सिजन ४० गोल गरेपनि च्याम्पियन्स लिग जित्न नसकेको स्मरण गरे।
“गत वर्ष मेरो लागि राम्रो थियो, मैले ४० गोल गरेको थिएँ। तर हामीले न त लिग वान जित्न सक्यौं, न त च्याम्पियन्स लिग नै।”,एम्बाप्पेले भने। एम्बाप्पेले व्यक्तिगत रुपमा जति नै सफल भएपनि टीमको रुपमा उपाधि जित्न नसक्नुको अर्थ नहुने बताए।
ठूलो उपाधि जित्न नसके ५० गोल गरेर पनि केहि नहुने एम्बाप्पेको भनाई छ। थोरै गोल गरेपनि घरेलु लिग र च्याम्पियन्स लिग जित्ने कुरा आफ्नो प्राथमिकतामा रहने एम्बाप्पेले सुनाए। उनले भने,”हामीले जितेनौं भने ५० गोल गरेर के फाइदा हुन्छ? त्यसको के अर्थ ? त्यसैले थोरै गोल गरेपनि लिग र च्याम्पियन्स लिग जित्नेमा म केन्द्रित छु।”
त्यस्तै सो अन्तर्वार्ताका क्रममा एम्बाप्पेले जिम्मेवारी बहन गर्ने कुरा आफ्नो प्राथमिकतामा रहने पनि बताए। उच्च-दबावमा रहेर पनि आफूले राम्रो प्रदर्शन गर्न सक्नुपर्ने एम्बाप्पेको भनाई छ।
“कहिलेकाँही निराशामा सिमित हुने भए पनि म दबावमा रहन चाहन्छु। यो एक सिक्ने प्रक्रिया हो। म सधैं मेरो काँधमा जिम्मेवारी लिन चाहन्छु”,एम्बाप्पेले भने।

