एजेन्सी – रियल म्याड्रिडका विंगर भिनिसियस जुनियर जारी सिजनमा उत्कृष्ट फुटबल खेलिरहेका छन्। सन् २०२१-२२ को सिजन शुरु भएयता रियल म्याड्रिडको स्निनियर टोलीमा लगातार ठाउँ बनाउन सफल उनी रियलको पछिल्लो सफलताको महत्वपूर्ण भूमिका निभाइरहेका छन्।
सिजनको शुरुवात देखि नै भिनिसियस निर्णायक बनिरहेका छन्। लालिगामा १७ खेल खेल्दा उनले १० गोल गरिसकेका छन् भने ४ असिस्ट दिएका छन्। त्यस्तै च्याम्पियन्स लिगमा पनि उनले राम्रो प्रदर्शन गरेका थिए। च्याम्पियन्स लिगका ६ खेल खेल्दा उनले २ गोल गर्दै ३ असिस्ट दिएका छन्।
नयाँ सम्झौताको तयारी
रियलमा भिनिसियसको सम्झौता सन् २०२४ सम्मको लागि छ। तर उत्कृष्ट प्रदर्शन गरिरहेका कारण रियलले भिनिसियसको सम्झौता थप गर्न चाहेको छ। बताइएअनुसार, उनले अहिले रियलमा वार्षिक साढे ३ मिलियन युरो पारिश्रमिक पाउँदै आएका छन्। तर रियलक अध्यक्ष फ्लोरेन्टिनो पेरेजले उनको पारिश्रमिक डबल गराउने सोच बनाएका छन्।
सम्झौता थप गर्न चाहेको खण्डमा भिनिसियसलाई वार्षिक ७ मिलियन युरो पारिश्रमिक दिने पेरेजको योजना रहेको छ। साथै पेरेज भिनिसियसको रिलिज क्लज १ बिलियन युरो राख्ने पक्षमा रहेको स्पेनिस मिडियाहरु बताउँछन्।
अन्य क्लबहरुको चासो
पछिल्लो सुधारसँगै भिनिसियस माथि विभिन्न क्लबहरुले नजर लगाउन थालेका छन्। फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का साथ-साथै प्रिमियर लिग क्लब लिभरपुलले भिनिसियस बारे चासो राखेको खेल मिडियाहरुको दावी छ। भिनिसियस आफैंले पेरेजलाई विभिन्न क्लबहरुले आफूलाई सम्पर्क गरेको बारे जानकारी गराइसकेका छन्।

