अन्ततः बार्सिलोना जान तयार भए काभानी !

एजेन्सी – उरुग्वेका फरवार्ड एडिन्सन काभानी क्याटलान क्लब बार्सिलोना जान तयार भएका छन्। क्रिस्टियानो रोनाल्डोको आगमन पछि म्यानचेस्टर युनाइटेड छाड्ने सोचमा रहेका काभानी बार्सिलोना जान तयार भएका हुन्। स्पेनिस मिडिया मार्काले गरेको दावी अनुसार जनवरी ट्रान्सफर विन्डोमै काभानीको ट्रान्सफर हुनेछ।

काभानी सन् २०२० देखि युनाइटेडमा छन्। पहिलो सिजन युनाइटेडको पहिलो टोलीमा स्थान बनाएपनि नयाँ सिजन शुरु भएयता उनले मौका पाउन सकिरहेका छैनन्। रोनाल्डो यसै सिजन युनाइटेड पुगेपछि उनले मौका पाउने सम्भावना झनै कम भएको छ।

युनाइटेडमा मौका नपाउने भएपछि उनी नयाँ क्लबको खोजिमा जुटेका थिए। काभानीलाई बार्सिलोनाका अलावा अर्जेन्टिनी क्लब बोका जुनियर्सले पनि भित्र्याउन चाहेको थियो। तर काभानीले भने बार्सिलोनालाई रोजेका छन्।

सर्जियो अगुएरोको ठाउँमा काभानी

फ्री ट्रान्सफरमा यसै सिजन म्यानचेस्टर सिटीबाट बार्सिलोना आएका सर्जियो अगुएरोले फुटबलबाट सन्यास लिसकेका छन्। मुटुमा समस्या देखिएपछि अगुएरोले फुटबलबाट बिदा लिने निर्णय गरेका हुन्। अगुएरोले सन्यास लिएपछि खालि भएको ठाउँ अब काभानीले लिनेछन्। बार्सिलोनामा स्ट्राइकरको खडेरी परिरहेको अवस्थामा काभानीको आगमनले बार्सिलोनाको संकट केहि भए पनि कम हुनेछ।

काभानी देखि मुक्ति पाउँदा युनाइटेड पनि खुशी हुनेछ। काभानी नोभेम्बर यता युनाइटेडको टोलीमा स्थान बनाउन सकिरेका छैनन्। पछिल्लो पटक उनले युनाइटेडबाट च्याम्पियन्स लिगमा एटलान्टा विरुद्ध खेलेका थिए।

प्रकाशित : शनिबार, पुष ०३, २०७८१५:२६

रियल नजाने भए हालान्ड !