एजेन्सी – सन् २०२१ मा रोबर्ट लेवान्डोस्की पछि यदि कसैले बढी गोल गरेको छ भने ती डुसान भ्लाहोभिकले मात्रै गरेका छन्। सिरी ‘ए’ क्लब फियोरेन्टिनाका युवा स्ट्राइकर डुसान नपत्याउँदो पाराले अगाडी बढिरहेका छन्। युवा अवस्थामै उनले जुन स्तरको प्रदर्शन गरिरहेका छन्, त्यसले सबैलाई चकित पारिरहेको छ।
सन् २०२१ मा डुसानले सिरी ‘ए’मा ३२ गोल गरिसकेका छन्। युरोपका शिर्ष लिगमा सबै भन्दा बढी गोल गर्ने खेलाडीको सूचीमा उनी मात्रै लेवान्डोस्की भन्दा पछि छन्। लेवान्डोस्कीले यस वर्ष ४२ गोल गरिसकेका छन्। भ्लाहोभिकले यस वर्ष मोहम्मद सलाह र लियोनेल मेस्सी भन्दा पनि बढी गोल गरेका छन्।
विगत ६० वर्षमा समयमा एकै वर्षमा सिरी ‘ए’ यदि कसैले बढी गोल गरेको छ भने ती क्रिस्टियानो रोनाल्डो हुन्। रोनाल्डोले युभेन्टसबाट खेल्दा सन् २०२० मा ३३ गोल गरेका थिए। फियोरेन्टिनाले यस वर्ष अझ दुई खेल खेल्न बाँकी छन्। बाँकी खेलमा दुई गोल गर्न सकेको खण्डमा उनले रोनाल्डोलाई पनि पछि पार्नेछन्।
युरोपक धेरै क्लबको नजर
भ्लाहोभिक निसन्देह यस वर्षका ब्रेकआउट स्टार हुन्। अहिले उनी माथि धेरै क्लबको नजर छ। भ्लाहोभिकका लागि ठूला भन्दा ठूला क्लबको टक्कर हुने स्पष्ट छ। भ्लाहोभिकलाई भित्र्याउन कुनै पनि क्लबले १ सय मिलियन युरो सम्म खर्च गर्नुपर्ने अवस्था बन्न सक्छ।
बताइएअनुसार, भ्लाहोभिक भित्र्याउनको लागि आर्सेनल र टोटेनह्याम दुवै तयारी अवस्थामा बसेका छन्। दुवै क्लब खुलेर खर्च गर्ने अवस्थामा रहेका छन्। तर दुवै क्लबलाई प्रिमियर लिग क्लब न्यूक्यासलले टक्कर दिने अवस्था बनिरहेको छ। भ्लाहोभिकलाई भित्र्याउन न्यूक्यासल १ सय मिलियन भन्दा बढी खर्च गर्न तयार भैसकेको छ। त्यस्तै उनी माथि म्यानचेस्टर युनाइटेडको समेत नजर रहेको छ।