एजेन्सी – रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोटीले बार्सिलोनाबाट आफूहरुलाई कुनै खतरा नरहेको बताएका छन्। पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा एन्सेलोटीले बार्सिलोना प्रत्यक्ष प्रतिद्वन्द्वी नरहेको बताएका हुन्।
एन्सेलोटीका अनुसार रियललाई बार्सिलोनाबाट प्रत्यक्ष खतरा छैन। लालिगाको शिर्ष स्थानमा रहेको रियल म्याड्रिडलाई बार्सिलोना भन्दा पनि अन्य क्लबहरुबाट खतरा रहेको एन्सेलोटीको भनाई छ। बार्सिलोना भन्दा सेभिया र रियल बेटिसबाट आफूहरुलाई खतरा रहेको एन्सेलोटीले बताए।
“बार्सा अहिले प्रत्यक्ष प्रतिद्वन्द्वी होइन। अहिले सेभिया र रियल बेटिस जस्ता क्लबहरुबाट हामीलाई खतरा छ। किनकि बार्सिलोना भन्दा उनीहरु हामी नजिक छन्।”,पत्रकारहरुसँग कुराकानी गर्दै एन्सेलोटीले भने।
त्यस्तै एन्सेलोटीले बार्सिलोना अहिले भन्दा माथि आउन सक्ने सम्भावना रहेको पनि बताए। बार्सिलोनासँग अगाडी बढ्न सक्ने क्षमता र गुणस्तर दुवै रहेको एन्सेलोटीको भनाई छ। हालसालै बार्सिलोनाका प्रशिक्षक जाभीले अझै पनि आफूहरु उपाधिका लागि लड्न सक्ने बताएका थिए। त्यस विषयमा समेत बोल्दै एन्सेलोटीले जाभीको ठाउँमा भएकोभए आफूले पनि त्यसै भन्ने बताए।
उनले भने,”बार्सा लालिगा तालिकामा माथि उक्लिन सक्छ। उनीहरुसँग त्यो क्षमता र गुणस्तर छ। म भएको भएपनि जाभीले जे भने त्यहि नै भन्ने थिएँ।”
लालिगामा बार्सिलोनाले खराब प्रदर्शनलाई कायम राख्दा रियल म्याड्रिडले आफ्नो उत्कृष्ट लयलाई कायमै राखेको छ। रियल गएको १३ खेलमा पराजित भएको छैन। रियलले लालिगामा मात्रै एक हार बेहोरेको छ।

