काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले निवर्तमान कप्तान ज्ञानेन्द्र मल्ल, उपकप्तान दीपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र कमलसिंह ऐरीलाई अनुशासनको कारण देखाउँदै कारबाही गरेपछि क्रिकेट वृत्तमा नयाँ तरङ्ग आएको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।
क्यानको बुधबार बोर्ड बैठकले २०२१ को केन्द्रिय ग्रेड सम्झौता अन्तिम ६ महिनाबारे असहमती जनाउँदै मिडियामा गएर बोलेको भन्दै ज्ञानेन्द्रलाई कप्तान र दीपेन्द्रलाई उपकप्तान बनाएको थियो । ज्ञानेन्द्र, दीपेन्द्र, सोमपाल र कमललाई २०२२ को सुरुवाती ६ महिना ग्रेडमा नराख्ने जनाएको थियो । त्यसपछि नेपाली क्रिकेटमा नयाँ तरङ्ग आएको छ ।
प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार क्यान अध्यक्ष चतुरबहादुर चन्दलाई फोन मार्फत विवाद बारे सोधेका थिए । खेलाडीलाई कारबाही गर्ने निर्णयमा पूनर्विचार गर्न आग्रह गरेका थिए । त्यस्तै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि खेलाडी विवाद बारे चासो राखेको बुझिएको छ । प्रचण्डकै आग्रहमा प्रधानमन्त्रीले क्यान अध्यक्षलाई फोन गरेको बुझिएको छ ।
राष्ट्रिय फुटबल टोलीका कप्तान किरण चेम्जोङले खेलाडीसँग राजनीति नगर्न आग्रह गरेका छन् । त्यस्तै अभिनेता दयाहाङ राईले पनि खेलाडीहरुको प्रेस विज्ञप्ति सेयर गर्दै लेखेका छन्, ‘मलाई त चित्त बुझेको छैन भने खेलाडीहरुलाई झन कसरी चित्त बुझ्ला । मेरो समर्थन जहिले पनि खेलाडीहरुलाई ।’
नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काले पनि खेलाडी कारबाही भने आफ्नो धारणा राखेका छन् । पारसले आफू खेलाडीको समर्थनमा रहेको जनाएका छन् । उनले लेखेका छन्, ‘हामी हाम्रो क्रिकेट खेलाडीहरुको समर्थनमा छौं । उनीहरुलाई धेरै नराम्रो व्यवहार गरिएको छ र न्याय दिनुपर्छ । आशा छ क्यानले आफ्नो निर्णय फिर्ता लिनेछ । खेलाडीहरुले फेब्रुअरीमा हुने टि२० ग्लोबल छनोटमा ध्यान केन्द्रित हुनेछन् ।’
सामाजिक सञ्जालमा क्यानको चर्को आलोचना भएको छ । केहि समर्थकहरुले क्यानलाई समर्थन पनि दिएका छन् । विगतको तुलनामा खेलाडी अनुशासनमा बस्नुपर्ने भन्ने धारणा राख्नेको संख्या पनि बढेको छ । चार खेलाडीहरुले शुक्रबार पत्रकार सम्मेलन गर्दै कारबाहीलाई पूनर्विचार गर्न आग्रह गरेका थिए । पूनर्विचार नगरेसम्म क्रिकेट नखेल्ने मनासय देखाएका थिए ।
क्यानले मंगलबारदेखि पोखरामा बन्द प्रशिक्षण राख्ने जनाएको छ । तर कारबाही प्रकरणले भने चर्कोरुप लिएको छ । क्यानले कप्तानमा सन्दीप लामिछानेलाई नियुक्त गरेको छ । सन्दीप भने बिग ब्यास लिग खेल्ने अष्ट्रेलियामा छन् । सन्दीपलाई कप्तानी दिएकोमा खेलाडीहरुलेनै असन्तुष्टि जनाएका छन् । नेपालले फेब्रुअरीमा आइसिसी ग्लोबल टि२० विश्वकप छनोट खेल्नेछ । तीव्र तयारी गर्नुपर्ने अवस्थामा नेपालमा भने खेलाडी र क्यानबीच चर्को विवाद भएको छ ।