एजेन्सी – सन् २०२१ को अन्तिम समय चलिरहेको छ। सन् २०२२ नजिकिँदै गर्दा युरोपका ठूला क्लबहरु तयार अवस्थामा बसिरहेका छन्। जनवरी ट्रान्सफर विन्डोमा आफ्ना क्लबका खेलाडी बिक्री गर्ने देखि उत्कृष्ट खेलाडी किन्ने सम्ममा क्लबहरुको योजना रहन्छ।
यसै बीच प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडले पनि जनवरी ट्रान्सफरमा कसरी प्रस्तुत हुने भन्ने योजना बनाइरहेको छ। आर्थिक रुपले धेरै नै सवल युनाइटेडले ठूला भन्दा ठूलो स्टारहरु भित्र्याउने गरेको छ। गत ट्रान्सफर विन्डोमा युनाइटेडले क्रिस्टियानो रोनाल्डो, जाडोन सान्चो, राफेल, भाराने जस्ता खेलाडीलाई भित्र्याएको थियो।
रोनाल्डोको आगमन पछि युनाइटेडको टोलीमा रहेका केहि खेलाडीहरुले मौका पाउन छाडेका छन्। रोनाल्डोका कारण युनाइटेडले जनवरीमा केहि खेलाडीहरुलाई बिक्री गर्न सक्ने चर्चा शुरु भएको छ। बताइएअनुसार, रोनाल्डोको आगमन पछि सबै भन्दा बढी समस्यामा एडिन्सन काभानीलाई परेको छ।
रोनाल्डोका कारण उनले जर्सी नम्बर ७ मात्र गुमाएनन्, युनाइटेडमा पाउँदै आएको स्थान पनि गुमाए। जसकारण उनी तत्काल क्लब परिवर्तन गर्ने योजनामा छन्। उनले युनाइटेडले क्लब छाड्ने बारे जानकारी गराइसकेका छन्। यस्तोमा उनी आफैं पनि नयाँ गन्तव्यको खोजिमा जुटेका छन्।
त्यस्तै युनाइटेडले जनवरी ट्रान्सफर विन्डोमा मार्कस रासफोर्डलाई पनि बिक्री गर्न सक्छ। रोनाल्डोसँग आक्रमणमा साझेदारी गर्न असफल भएका रासफोर्डलाई युनाइटेडले बिक्री गर्न सक्ने उच्च सम्भावना रहेको बताइन्छ। अर्का युवा स्ट्राइकर एन्थोनी मार्सियललाई पनि युनाइटेडले बिक्री गर्न सक्छ। उनी आफैंले युनाइटेडलाई नयाँ क्लबमा जान चाहेको बताइसकेको चर्चा छ। उनी माथि विभिन्न क्लबहरुले चासो पनि देखाएका छन्।