एजेन्सी – क्याटलान क्लब बार्सिलोनाका प्रशिक्षक जाभी हर्नान्डेजले सेभियाविरुद्धको खेलको लागि अनुभवी डिफेन्डर जेरार्ड पिके र युवा विंगर इलिएस एखोमाचलाई टोलीमा समेटेको छ ।
बर्सिलोनाले मंगलबार राति सेभियासँग उसकै मैदानमा प्रतिस्पर्धा गर्दैछ । खेल नेपाली समयअनुसार राति २ः१५ बजे रमन सान्चेज पिजुवानमा हुनेछ ।
जेरार्ड पिके एक खेलको प्रतिबन्धपछि टोलीमा फर्किएका हुन् । १७ वर्षीय युवा विंगरले म्याराडोना कपपछि सिनियर टोलीमा पूनरागमन गरेका हुन् । उनी बोका जुनियरसँगको खेलपछि ला लिगामा इल्चेविरुद्धको खेलमा टोलीमा रहेका थिएनन् । जाभीको नेतृत्वमा बार्सिलोनाको सिनियर टोलीबाट दुई खेल खेलिसकेका छन् ।
पेड्री, सर्जी रोबर्टाे, अन्सु फाती, मार्टिन ब्रेथवेट र सर्जिनो डेस्ट चोटका कारण टोलीमा हुनेछैनन् । पेटको समस्याका कारण युसुफ डेमिर पनि टोलीमा हुनेछैनन् ।
घरेलु मैदानमा हुने खेलमा सेभिया बार्सिलोनालाई पराजित गर्दै शीर्षस्थानको रियल म्याड्रिडसँगको अंक दुरी छोट्याउने योजनामा हुनेछ । बार्सिलोनालाई हराउन सके सेभियाले रियलसँगको अंक दुरी ३ मा झार्नेछ । बराबरीले ५ अंकको दुरी हुनेछ । सेभियाको ३७ तथा रियलको ४३ अंक छ ।
यता, बार्सिलोना पनि घरेलु टोलीलाई पराजित गर्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा हुनेछ । २७ अंक जोडेर आठौं स्थानमा रहेको बार्सिलोनाले सेभियालाई हराउन सके पाँचौ स्थानमा उक्लनेछ । बराबरीले एक स्थान मात्रै सुधार हुनेछ ।
सेभियाविरुद्ध बार्सिलोनाको पुर्ण टोली
मार्क आन्दर टेर स्टेगन, जेरार्ड पिके, रोनाल्ड एराउजो, सर्जियो बुस्क्वेट्स, रिकी पुच, औसमाने डेम्वेले, नेटो, फिलिपे कौटिन्हो, क्लेमेन्ट लेङ्लेट, लुक डि जोङ, जोर्डी अल्वा, फ्रान्की डि जोङ, ओस्कर मिगुइजा, सामुयल उम्टिटी, इरिक गार्सिया, इनाकी पेना, निको गोन्जालेज, फेरान जुट्गल, एलेसान्द्रो बाल्डे, इज एब्डे, अल्भारो सान्ज र इलिएस एखोमाच

