“जाभीलाई समय दिइने हो भने कमाल गर्छन्”

एजेन्सी – बार्सिलोनाका पूर्व खेलाडी जेभियर मास्चेरानोले बार्सिलोनाका नयाँ प्रशिक्षक जाभी हर्नान्देजलाई समय दिइनु पर्ने बताएका छन्। एक स्पेनिस मिडियासँग कुराकानी गर्नेक्रममा मास्चेरानोले जाभीलाई समय दिइनु पर्ने बताएका हुन्।

स्पेनिस मिडिया एससँग कुराकानी गर्नेक्रममा मास्चेरानोले समय दिइएमा जाभीले बार्सिलोनामा परिवर्तन ल्याउन सक्ने बताए। जाभीले समय पाएको खण्डमा बार्सिलोनाको स्तरलाई माथि उठाउन सक्ने मास्चेरानोको विश्वास छ। बार्सिलोनाको पुनरुत्थान गर्न जाभी सक्षम रहेको मास्चेरानो बताउँछन्।

“उनी बार्सिलोनालाई पुनरुत्थान गर्न र शीर्षमा फर्काउन सक्षम छन्। बार्सिलोना अहिले उत्कृष्ट अवस्थामा छैन। तर जाभीले सुधार ल्याउँछन् भन्नेमा मलाई शंका छैन। मात्र उनलाई समयको खाँचो छ।”,मास्चेरानोले भने।

बार्सिलोना बारे जाभीलाई धेरै भन्दा धेरै जानकारी रहेको मास्चेरानोको भनाई छ। बार्सिलोनाको दर्शन जाभीले राम्रोसँग बुझेको मास्चेरानोले बताए। उनले भने,”क्लब बारे जुन धेरैलाई थाहा छैन, त्यो उनलाई थाहा छ। जाभीले बार्सिलोनाको दर्शन बारे धेरै राम्रोसँग बुझेका छन्। जाभी महान चीजहरू गर्न पर्याप्त छन्।”

त्यसो भनिरहँदा मास्चेरानोले कतारी क्लब अल-सादमा जाभीले बिताएको समयलाई पनि सम्झिए। चार वर्ष अल-सादमा खेलेपछि जाभी प्रशिक्षक बनेको र राम्रोसँग जिम्मेवारी सम्हालेको मास्चेरानोले बताए।

“कतारले जाभीलाई प्रशिक्षकको रुपमा पहिलो मौका दिएको थियो। त्यो मौकालाई उनले खेर जान दिएनन्। उनको शैली अल-सादमा रुचाइएको थियो। त्यहाँ उनले धेरै काम गर्न साफल भएका थिए।”,उनले भने।

प्रकाशित : मङ्गलबार, पुष ०६, २०७८२१:२६

दोस्रो स्थानको सेभियालाई बार्सिलोनाले रोक्यो, रियल म्याड्रिडलाई फाइदा !