एजेन्सी – क्याटलान क्लब बार्सिलोनाले स्पेनिस ला लिगामा सेभियासँग बराबरी खेलेको छ । एक गोलले पछि परेको अवस्थामा बार्सिलोनाले घरेलु टोली सेभियासँग १–१ गोलको बराबरी खेलेको हो ।
घरेलु टोलीका एलेसान्द्रो गोमेजले गोल गर्दा बार्सिलोनाका रोनाल्ड एराउजोले बराबरी गोल फर्काए । दुवै गोल पहिलो हाफमा भएको थियो ।रमन सान्चेज पिजुवानमा मंगलबार राति भएको खेलमा घरेलु टोली १० खेलाडीमा समेटिएपनि त्यसको फाइदा बार्सिलोनाले उठाउन सकेन ।
खेलको ३२औं मिनेटमा एलेसान्द्रो गोमेजले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । उनले कप्तान इभान राकिटिचको पासमा गोल गरेका थिए । पहिलो हाफको इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा रोनाल्ड एराउजोले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । उनले औसमाने डेम्वेलेको पासमा गोल गरेका थिए ।
६४औं मिनेटमा सेभिया १० खेलाडीमा समेटिन पुग्यो । जोर्डी अल्वालाई टच लाइनमा अनावश्यक रुपमा विवादमा उत्रिएपछि जुलेस कुन्डेलाई रेफ्रीले सिधै रातो कार्ड देखाउँदै मैदान बाहिर पठाएको थियो । त्यसपछि बार्सिलोनाले बल पोसेसन राख्दै घरेलु टोलीलाई दवावमा राखेपनि गोल गर्न नसक्दा बराबरीमा रोकिन बाध्य बन्यो ।
यो सिजन ला लिगामा मध्यम प्रदर्शन गरिरहेको बार्सिलोनाको यो सातौ बराबरी हो । बार्सिलोनाले १८ खेल खेल्दा ७ जित र ७ बराबरी तथा ४ हारको नतिजा निकालेको छ ।
यो बराबरीसँगै सेभिया १८ खेलबाट ३८ अंक जोडेर दोस्रो स्थानमा रहँदा शीर्षस्थानको रियल म्याड्रिडसँग ५ अंकले पछि परेको छ । बराबरीसँगै बार्सिलोनाले पाँचौ स्थानमा उक्लने मौका गुमाउँदा २८ अंक जोडेर सातौ स्थानमा रहेको छ ।
अर्काे खेलमा भिल्लारियलले डिपोर्टिभो एलाभेसलाई ५–२ ले पराजित गरेको छ । भिल्लारियलको जितमा जेरार्ड मोरेनो र बोउलाय डिएले समान दुई तथा यारेमी पिनोले एक गोल गरे । एलाभेसका पेरे पोन्स र जोसेलुले समान एक गोल गरे ।
जितसँगै भिल्लारियल १८ खेलबाट २५ अंक जोडेर नवौं स्थानमा उक्लिएको छ । पराजित एलाभेस १५ अंक जोडेर रेलिगेसन जोनको १८औं स्थानमा रहेको छ ।