एजेन्सी – इन्ज्युरी समयमा अर्जेन्टिनी फरवार्ड मोउरो इकार्डीले गोल गरेपछि फ्रेन्च लिग वानको शीर्षस्थानमा रहेको पेरिस सेन्ट जर्मेन (पिएसजी) हारबाट जोगिएको छ ।

पिएसजीले घरेलु टोली लोरिएन्टसँग १-१ गोलको बराबरी खेलेको हो । लोरिएन्टका थोमस मोनकाेनडुइले गोल गरेपनि १० खेलाडीमा समेटिएको पिएसजीविरुद्व जित निकाल्न सकेन ।
खेलको ४०औं मिनेटमा थोमसले गोल गर्दै घरेलु टोलीलाई १-० को अग्रता दिलाएका थिए । उनले इन्जो लि फिको पासमा गोल गरेका थिए । तर त्यो अग्रतालाई लोरिएन्टले अन्तिम समयमा जोगाउन सकेन ।

इन्ज्युरी समयको थप गरिएको पहिलो मिनेटमा इकार्डीले गोल गर्दै पिएसजीलाई हार बाट जोगाए । उनले अचरफ हाकिमीको पासमा गोल गरेका थिए ।
त्यसअघि दोस्रो हाफको शुरुमा नुनो मेन्डेसको स्थानमा मैदान छिरेका भेट्रान डिफेन्डर सर्जियो रामाेस दोहोरो पहेँलो कार्ड खादै मैदानबाट बाहिरिएपछि पिएसजी ८५औं मिनेटमा १० खेलाडीमा समेटिन पुगेको थियो । उनले यो सिजन पिएसजीका लागि दोस्रो खेल खेल्दा नै रातो कार्डको सामना गर्नुपरेको हो ।

यो बराबरीपछि पिएसजी १९ खेलबाट ४६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । पिएसजीले दोस्रो स्थानको निसलाई १३ अंकले पछि पारेको छ । लोरिएन्ट १६ अंक जोडेर १९औं स्थानमा छ ।

