एजेन्सी – लिभरपुलमा मोहम्मद सलाहको सम्झौता डेढ वर्ष भन्दा बढी छैन। सम्झौता सकिने समय तर्फ अगाडी बढ्दै गर्दा लिभरपुलले सम्झौता थप गर्ने प्रयास गरिरहेको छ। त्यसका लागि क्लबले सलाहलाई विभिन्न प्रस्तावहरु गरिसकेको छ। तर सलाह भने लिभरपुलले गरेका प्रस्तावहरुमा सन्तुष्ट हुन सकिरहेका छैनन्।
लिभरपुलमा सलाह अहिले प्रत्येक हप्ता २ लाख पाउण्ड पारिश्रमिक पाउँदै आएका छन्। गएको पाँच सिजन देखि उत्कृष्ट प्रदर्शन गरिरहेका सलाह जस्ता खेलाडीका लागि त्यो अत्यन्त कम पारिश्रमिक हो। यस्तोमा सलाह सम्झौता नवीकरण गर्दा आफ्नो पारिश्रमिक दोब्बर होस् भन्ने चाहन्छन्।
बेलायती मिडियाहरुले गरेको दावी अनुसार यसका अलावा सलाह लिभरपुलमा केहि परिवर्तन पनि चाहन्छन्। लिभरपुल अहिलेको भन्दा थप बलियो अवस्थामा होस् भन्ने उनको चाहना छ। सलाहले लिभरपुलमा केहि उत्कृष्ट खेलाडीहरु थप हुनुपर्ने शर्त राखेको मिडियाहरुको दावी छ।
सलाहले लिभरपुललाई भविष्यमा अझ प्रतिस्पर्धात्मक बनाउनको लागि भरपर्दो खेलाडी भित्र्याउन आग्रह गरेको स्काई डचल्याण्डले जनाएको छ। सलाहको नयाँ आग्रहसँगै लिभरपुल नयाँ खेलाडीको खोजिमा जुटेको छ। बताइएअनुसार, अब बोरुसिया डर्टमन्डका युवा स्टार एर्लिङ हालाण्ड पनि लिभरपुलको नजरमा हुनेछन्। लिभरपुललाई प्रिमियर लिग र च्याम्पियन्स लिगको दाबेदारको रुपमा कायम राख्नको लागि लिभरपुलले हालाण्डलाई भित्र्याउने प्रयास गर्नेछ।
हालाण्ड भित्र्याउने दौडमा को-को ?
हालाण्ड लिभरपुलमा मात्र टार्गेट होइनन्। हालाण्ड माथि लगभग सबै ठूला क्लबको नजर छ। म्यानचेस्टर सिटी, रियल म्याड्रिड, बार्सिलोना र म्यानचेस्टर युनाइटेड जस्ता सबै क्लब हालाण्डलाई भित्र्याउन चाहन्छन्। बार्सिलोनाले त हालाण्ड भित्र्याउनको लागि पहल पनि थालिसकेको छ।