एजेन्सी – च्याम्पियन्स लिगमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)ले बलियो प्रतिद्वन्दी पाएको छ। घरेलु लिग तथा च्याम्पियन्स लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको स्पेनिस महारथी रियल म्याड्रिडसँग पिएसजीको सामना हुनेछ। च्याम्पियन्स लिग जित्ने पिएसजीको ठूलो सपनाको बाधक रियल बन्न सक्छ। रियललाई पाखा लगाउन सकेको खण्डमा मात्रै पिएसजीको च्याम्पियन्स लिग सपना जीवित रहनेछ।
पिएसजीले रियलको सामना दुई लेगमा गर्नेछ। रियल पहिलो खेल घरेलु मैदानमा खेलेर दोस्रो खेलमा रियलको मैदानमा उपस्थित हुनेछ। पहिलो खेल फेब्रुअरी १६ मा हुनेछ। च्याम्पियन्स लिग जित्नकै लागि ठूला भन्दा ठूला स्टार अनुबन्ध गरिरहेको पिएसजी सो खेल जित्नै पर्ने दबावमा हुनेछ। घरेलु मैदानमा भएको खेलमै पराजय अथवा बराबरी खेलेको खण्डमा पिएसजीको तनाव बढ्नेछ।
नेयमार माथि प्रश्न ?
पिएसजीमा महत्वपूर्ण खेलाडी मध्ये एक रहेका नेयमार अहिले घाइते छन्। केहि समय अगाडी घाइते भएका उनी कहिले सम्म फिर्ता हुने हो भन्ने टुंगो छैन। नेयमार गत नोभेम्बर अन्तिममा घाइते भएका थिए। सेन्ट इटिएन विरुद्धको खेलका क्रममा घाइते भएका उनको खुट्टामा गम्भीर समस्या देखिएको छ।
फ्रेन्च मिडियाहरुका अनुसार नेयमारलाई पूर्णरुपमा निको हुन अपेक्षा गरिएभन्दा बढी समय लाग्ने भएको छ। यससँगै उनी रियल म्याड्रिड विरुद्धको खेलका लागि उपलब्ध हुने कुरामा पनि शंका उत्पन्न भएको छ।
नेयमारको खुट्टामा लागेको चोट अपेक्षा गरिए भन्दा खराब निस्किएको आरएमसी स्पोर्टले जनाएको छ। जस कारण अब उनी मैदानमा फर्किन अझै समय लाग्ने भएको छ। पूर्णरुपमा ठीक भएर नेयमार फर्किन फेब्रुअरीको अन्त्य सम्म लाग्न सक्ने बताइन्छ।

