एजेन्सी – सन् २०२२ नजिकिँदै गर्दा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को तनाव दिन प्रति दिन बढ्दै छ। पिएसजीले युवा स्टार किलियन एम्बाप्पेको सम्झौता थप गर्न भरपुर प्रयास गरिरहेपनि सफल हुन सकिरहेको छैन।
आउने केहि दिनमै एम्बाप्पे विश्वका कुनै पनि क्लबसँग अग्रिम सम्झौता गर्नका लागि खुल्ला हुनेछन्। जसकारण पिएसजीले त्यस अगाडी नै एम्बाप्पेलाई सम्झौता थप गर्नका लागि फकाइरहेको छ।
एम्बाप्पेको सम्झौता यस सिजनको अन्त्य अर्थात सन् २०२२ जुन सम्मका लागि मात्रै छ। त्यसको ६ महिना अगाडी जनवरी देखि एम्बाप्पेले जुनै पनि क्लबसँग अग्रिम सझौता गर्न पाउनेछन्।
एम्बाप्पेलाई भित्र्याउन सकिनेमा ढुक्क रियल म्याड्रिड
स्पेनिस मिडिया स्पोर्ट्सका अनुसार एम्बाप्पेलाई भित्र्याउन सकिनेमा रियल ढुक्क देखिएको छ। एम्बाप्पेले पिएसजीसँग थप नगर्ने र फ्री ट्रान्सफरमा रियल भित्रिनेमा रियलका अधिकारीहरु ढुक्क रहेको बताइन्छ।
मौका कुर्दै रियल
२ सय मिलियन तिर्न तयार हुँदा पनि एम्बाप्पे भित्र्याउने योजना असफल भएपछि रियल अहिले पर्ख र हेरको अवस्थामा छ। एम्बाप्पेको सम्झौतालाई रियलले धेरै नजिकबाट नियालिरहेको छ।
एम्बाप्पे जनवरीबाट अग्रिम सम्झौताका लागि उपलब्ध हुने हुँदा रियलले त्यहि मौकालाई कुरिरहेको छ। यदि एम्बाप्पेले पिएसजीका सम्पूर्ण प्रस्ताव अस्विकार गरेको खण्डमा रियल र एम्बाप्पे बीच जनवरीमै अग्रिम सम्झौता हुनेछन्।
पिएसजी थरर …
जनवरी नजिकिँदै गर्दा पिएसजीलाई पर्न सम्म पिर परिरहेको छ। एम्बाप्पे आफैंले पैसा सबै कुरा नभएको बताइसकेका छन्। यसबाट यो प्रष्ट हुन्छ कि पैसाका कारण मात्र उनी पिएसजीमा रहने छैनन्। एम्बाप्पेलाई अड्याउन अब पिएसजीले नयाँ तरिका अपनाउनुपर्नेछ।
“मानव सम्बन्धहरू पैसा भन्दा धेरै मनमोहक हुन्छन्। जीवनको अनुभव जहिले पनि पैसा भन्दा माथि हुन्छ।”,एम्बाप्पेले केहि समय अगाडी भनेका थिए,”अनुभव बटुल्नु पैसा कमाउनु भन्दा बढी महत्त्वपूर्ण हुन्छ भन्ने म मान्छु।”

