एजेन्सी – प्रिमियर लिग च्याम्पियन्स म्यानचेस्टर सिटीले आउने समर ट्रान्सफर विन्डोका लागि अहिले देखि नै तयारी थालेको छ। आउने समर ट्रान्सफर विन्डोमा बोरुसिया डर्टमन्डका युवा स्टार एर्लिङ हालाण्डको ट्रान्सफर हुन सक्ने सम्भावना देखेसँगै सिटी अहिलेबाट नै तयारीमा जुटेको हो।
हालाण्ड भित्र्याउनको लागि सिटीले विभिन्न खेलाडीहरु बेच्न योजना बनाएको बेलायती संचार माधमहरुले जनाएका छन्। सो योजना अनुरुप फरवार्ड फेरान टोरेस बिक्री हुने लगभग पक्का भइसकेको छ। सिटीले बार्सिलोनालाई ५५ मिलियन पाउण्डमा टोरेस बिक्री गर्न लागेको बेलायती संचार माध्यमहरु बताउँछन्।
टोरेस बाहेक अन्य खेलाडी पनि बिक्री गर्ने सिटीको तयारी रहेको छ। सिटीले बिक्री गर्न लागेको खेलाडीमा पेड्रो पोर्रो पनि छन्। हाल लोनमा स्पोर्टिंग सिपिमा रहेका उनी ८ मिलियन पाउण्डमा बिक्री हुन सक्छन्। उनी माथि रियल म्याड्रिड जस्ता क्लबको नजर छ। तर उनलाई स्पोर्टिंग सिपिले नै खरिद गर्न सक्छ।
त्यस्तै शाल्केमा रहेका जापानी खेलाडी को इटाकुरालाई पनि सिटीले बिक्री गर्न सक्छन्। हाल उनी लोनमा त्यहाँ छ। उनलाई शाल्केले पूर्ण रुपमा खरिद गर्न सक्छ। त्यसबाट सिटीले ५ मिलियन पाउण्ड सम्म कमाउन सक्छ।
यति मात्र होइन मोर्गन रोजर्सलाई पनि सिटीले बिक्री गर्न सक्छ। मोर्गन रोजर्स अहिले लोनमा बोर्नमाउथमा छन्। प्रिमियर लिगमा प्रवर्द्धन भएको खण्डमा बोर्नमाउथले पक्कै पनि रोजर्सलाई क्लबमा राख्न चाहने छ। त्यसको अवस्थामा सिटीले रोजर्सबाट कम्तीमा पनि ९ मिलियन पाउण्ड सम्म प्राप्त गर्न सक्नेछ।
यसरी चार खेलाडी बिक्रीबाट सिटीले ७७ मिलियन पाउण्ड जम्मा गर्न सक्ने देखिन्छ। उक्त रकम सिटीका लागि हालाण्ड ट्रान्सफरमा काम लाग्नेछ।

