काठमाडौँ – नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षि दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जाने प्रस्ताव गरेका छन्।
नेकपा एमालेले संसद अवरोध कायमै राखेपछि प्रचण्डले प्रधानमन्त्री शेर बहादुर देउवा समक्ष ओलीलाई भेट्न उनकै निवासमा जाने प्रस्ताव गरेका हुन्। शनिबार माओवादी केन्द्रको राष्ट्रिय सम्मेलनको पूर्वसन्ध्यामा विभिन्न सञ्चारमाध्यमका सम्पादकसँग कुराकानी गर्नेक्रममा प्रचण्डले प्रधानमन्त्री समक्ष सो प्रस्ताव राखेको बताए।
“मैले त प्रधानमन्त्रीजीलाई उहाँ आउनु हुन्न, तपाईं र म नै बालकोट जाऊँ भनेको छु”,सम्पादकहरुसँग कुराकानी गर्नेक्रममा प्रचण्डले भने,”उहाँहरुको महाधिवेशन सकिएको छ । हाम्रो पनि सकिन्छ र जरुरी पर्यो भने बरु उहाँ आउन नमान्ने हो भने हामी नै जाने”
प्रचण्डले संसदभित्र एमालेले जात्रा देखाएको आरोप लगाए। एमालेले सदनमा माधव नेपाललाई देख्न नचाहेको र गठबन्धन तोड्ने प्रयास गरिरहेको प्रचण्डको आरोप छ। सर्वोच्च अदालत र सदनले समेत मान्यता दिइसकेको अवस्थामा अन्य पार्टीका सांसदहरुलाई कारवाही माग गर्नु ठिक नहुने प्रचण्डले बताए।
त्यस्तै प्रचण्डले एमालेले तेस्रोपटक संसद विघटनको प्रयास गरिरहेको पनि बताएका छन्। एमाले र ओलीले गरिरहेको प्रयास कुनै पनि हालतमा सफल हुन नदिने प्रचण्डको घोषणा छ।