एजेन्सी – लिभरपुल यतिबेला प्रिमियर लिगको दोस्रो स्थानमा छ। सिजनको शुरुवात देखि नै राम्रो प्रदर्शन गरिरहेको उसले यस सिजनमा मात्र एक हार बेहोरेको छ। मात्रै १ हार बेहोरेपनि कम जित निकालेका कारण लिभरपुल म्यानचेस्टर सिटी भन्दा ३ अंकले पछि छ। १४ खेलमा जित निकालेको सिटी ४४ अंक सहित शिर्ष स्थानमा रहँदा १२ जित निकालेर ४१ अंक सहित दोस्रो स्थानमा छ।
प्रिमियर लिगको शिर्ष स्थानमा रहेको सिटीलाई यदि कसैले टक्कर दिन सक्छ भने त्यो लिभरपुल नै हो। सिटीलाई टक्कर दिनको लागि लिभरपुलले विन्टर ट्रान्सफर विन्डोमा केहि खेलाडीहरु थप गर्न सक्ने सम्भावना देखिन्छ। केहि दिन भित्र शुरु हुने ट्रान्सफर विन्डोमा लिभरपुलले केहि खेलाडी भित्र्याउने बेलायती मिडियाहरु बताउँछन्।
फ्रेन्च क्लब लिलमा रहेका क्यानेडेली फरवार्ड जोनाथन डेभिड लिभरपुलको मुख्य टार्गेटको रुपमा रहेका छन्। लिलमा सन् २०२५ सम्मका लागि सम्झौता रहेपनि उनको ट्रान्सफर विन्टर ट्रान्सफर विन्डोमा हुन सक्छ। ५० मिलियन युरो आसपास उनी बिक्री हुन सकने बताइन्छ। उनी केहि समय देखि लिभरपुलको प्राथमिकतामा छन्। तर उनलाई भित्र्याउन चाहने लिभरपुल एक्लो क्लब होइन। उनी माथि रियल म्याड्रिडको पनि चासो छ।
त्यस्तै बोरुसिया मोन्चेनग्लाडबाचका मिडफिल्डर डेनिस जकारिया माथि पनि लिभरपुलको नजर छ। जकारिया आफैं पनि लिभरपुल आउन चाहेको बताइन्छ। तर उनलाई न्यूक्यासलले पनि भित्र्याउन चाहिरहेको छ।
बोरुसिया डर्टमन्डका युवा मिडफिल्डर जुड बेलिङ्घम माथि पनि लिभरपुलको नजर छ। जर्मन बुन्डेसलिगामा प्रभावशाली प्रदर्शन गरिरहेका उनलाई भित्र्याउन लिभरपुलले प्रयास गरिरहेको बताइन्छ। सबै राम्रो गएको खण्डमा उनी विन्टर ट्रान्सफरमै लिभरपुल पुग्न सक्छन्। यस्तै अर्जेन्टिनी क्लब रिभर प्लेटका जुलियन अल्वारेज पनि लिभरपुलको टार्गेटमा छन्।