एजेन्सी – बोरुसिया डर्टमण्डका नर्वेली युवा स्ट्राइकर एर्लिङ हालाण्ड भित्र्याउने योजना रहेको क्याटलान क्लब बार्सिलोनालाई नराम्रो झड्का लाग्ने भएको छ। प्रिमियर लिग च्याम्पियन म्यानचेस्टर सिटीले हालाण्डलाई भित्र्याउन सक्दो प्रयास गर्ने प्रण गरेसँगै बार्सिलोनालाई नराम्रो झड्का लाग्ने भएको हो।
सिटी प्रिमियर लिगकै सफल क्लब हो भने उसले लगातार उच्च प्रदर्शन गर्दै आएको छ। च्याम्पियन्स लिग जित्ने योजना सहित अगाडी बढिरहेको सिटी आर्थिक रुपमा पनि बार्सिलोना भन्दा धेरै मजबुत अवस्थामा छ। गत ट्रान्सफर विन्डोमा ह्यारी केनलाई भित्र्याउन खोजेको सिटीले अब केनलाई नभित्र्याइ हालाण्डलाई भित्र्याउने भएको छ।
यता बार्सिलोना भने ठीक विपरित अवस्थामा छ। बार्सिलोनाको अवस्था युरोपेली प्रतियोगिताहरुमा मात्र नभई घरेलु लिगमा पनि नाजुक अवस्थामा छ। बार्सिलोना च्याम्पियन्स लिगबाट बाहिरिसकेको छ भने आउने सिजनमा पनि च्याम्पियन्स लिगका लागि छनौट हुने-नहुने टुंगो छैन।
भरपर्दो स्ट्राइकर नहुँदा समस्यामा रहेको बार्सिलोना जुनै पनि हालतमा हालाण्डलाई भित्र्याउन चाहन्छ। बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टाले हालाण्ड भित्र्याउनको लागि निरन्तर प्रयास गरिरहेका छन्। तर उनले जे जति प्रयास गरेपछि सिटीले हालाण्ड माथि नजर लगाएपछि बार्सिलोनालाई अफ्ठेरो पर्ने स्पष्ट छ।
डर्टमण्डमै अड्किने भए हालाण्ड
हालाण्डलाई जर्मन क्लब बोरुसिया डर्टमण्डले तत्काल बिक्री नगर्ने भएको छ। यहि विन्टर ट्रान्सफर विन्डोमा हालाण्डले क्लब परिवर्तन गर्ने चर्चा चलिरहेका बेला डर्टमण्डले हालाण्डलाई तत्काल बिक्री गर्ने कुनै पनि योजना नरहेको स्पष्ट पारेको हो।
एक मिडियासँग कुराकानी गर्नेक्रममा डर्टमण्डका खेल निर्देशक माइकल जोर्कले हालाण्डलाई जनवरी ट्रान्सफर विन्डोमा बिक्री गर्ने आफूहरुको योजना नरहेको बताए। जोर्कका अनुसार डर्टमण्डले हालाण्डलाई बिक्री गर्ने कुनै पनि योजना बनाएको छैन।