एजेन्सी – प्रिमियर लिग क्लब लिभरपुललाई ठूलो राहत मिलेको छ। सन् २०२२ को पहिलो खेलमा चेल्सीको सामना गर्नु अगाडी लिभरपुललाई धेरै नै ठूलो राहत मिलेको हो।
इजिप्टियन फुटबल एसोसियसनले लिभरपुलका इजिप्टियन स्ट्राइकर मोहम्मद सलाहलाई चेल्सी विरुद्धको खेलमा सहभागी हुन दिने भएको छ। यस अगाडी अफ्रिका कप अफ नेसन्सका कारण चेल्सी विरुद्धको खेल गुमाउने भएका सलाह चेल्सी विरुद्ध खेल्नेछन्।
सन् २०२२ को जनवरी ९बाट अफ्रिका कप अफ नेसन्स शुरु हुँदैछ। उक्त प्रतियोगितामा इजिप्ट पनि सहभागी हुँदैछ। जस कारण सलाहले लिभरपुल छाडेर इजिप्टबाट खेल्नुपर्नेछ। त्यस्तो हुँदा लिभरपुललाई सबै भन्दा धेरै दबाव पर्ने देखिन्छ। तर लिभरपुलको आग्रहमा इजिप्टियन फुटबल एसोसियसनले सलाहलाई चेल्सीको खेल पछि मात्र फिर्ता बोलाउने निर्णय गरेको छ।
महत्वपूर्ण सलाह
सलाह लिभरपुलका मुख्य खेलाडी हुन्। लिभरपुलले जारी सिजनमा सलाहकै कारण उत्कृष्ट नतिजा निकालिरहेको छ। जारी सिजनमा सलाहले १८ खेलमा १५ गोल गरिसकेका छन् भने ९ असिस्ट दिसकेका छन्।
चेल्सी भर्सेस लिभरपुर
प्रिमियर लिगको उपाधि दौडमा रहेका चेल्सी र लिभरपुल बीच जनवरी २ मा प्रतिष्पर्धा हुनेछ। चेल्सीको घरेलु मैदानमा हुने खेल विभिन्न अर्थले महत्वपूर्ण हुनेछ। अहिले लिभरपुल ४१ अंक सहित प्रिमियर लिगको दोस्रो स्थानमा छ भने समान अंक सहित चेल्सी तेस्रो स्थानमा। दुवै टीमक लागि जित महत्वपूर्ण हुनेछ।

