एजेन्सी – स्पेनिस महारथी रियल म्याड्रिडले गएको दुई वर्ष देखि खर्च गरेको छैन। कोरोना भाइरसको महामारी चल्दै गर्दै रियल खर्च गर्न मामलामा शान्त देखिएको छ। रियलले गएको दुई वर्षमा नयाँ खेलाडी खरिदमा खर्च गरेकै छैन भन्न समेत मिल्छ। दुई वर्ष अर्थ संचय गरेको रियलले अब खर्च गर्न थाल्ने अनुमान लगाउन सकिन्छ।
रियलले दिर्घकालिन योजनाका लागि लगानी गर्ने सोच बनाइरहेको स्पेनिस मिडियाहरु बताउँछन्। क्लबमा रहेका केहि खेलाडीलाई बेचेर नयाँ खेलाडी भित्र्याउने रियलको योजना रहेको छ। जनवरी ट्रान्सफर विन्डोमा रियलले ग्यारेथ बेल र इस्कोलाई जसरी पनि बेच्ने योजना बनाइरहेको छ।
जनवरी ट्रान्सफर विन्डोमा नजिकिँदै गर्दा रियलको नजर कुन कुन खेलाडीमा होला भन्ने बारे पनि चर्चा शुरु भएको छ। स्पेनिस मिडियाहरुले गरेको दावी अनुसार रियलले जनवरी ट्रान्सफर विन्डोमा रियलले चेल्सीका डिफेन्डर एन्टोनियो रुडिगरलाई भित्र्याउन सक्नेछ।
चेल्सीमा रुडिगरको सम्झौता सन् २०२२ को जुन सम्मका लागि छ। रुडिगरको सम्झौता थप गर्ने प्रयास गरिरहेको भएपनि चेल्सीको प्रयास सफल हुन सकिरहेको छैन। यस्तोमा रियलले रुडिगरलाई भित्र्याउने चाहना देखाएको बताइन्छ। जनवरी ट्रान्सफर विन्डोमै रियलले रुडिगरसँग अग्रिम सम्झौता गर्न सक्ने उच्च सम्भावना छ।
त्यस्तै रियलले जनवरीमै फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)का युवा स्टार किलियन एम्बाप्पेसँग पनि सम्झौता गर्न सक्छ। सन् २०२२ जुन सम्म मात्र पिएसजीमा सम्झौता रहेका एम्बाप्पे जनवरी लाग्नेबितिकै अग्रिम सम्झौताका लागि खुला हुनेछन्। जनवरी लागेपछि एम्बाप्पेले विश्वका जुनै पनि क्लबसँग अग्रिम सझौता गर्न पाउनेछन्। यस्तोमा एम्बाप्पेसँग अग्रिम सम्झौता गर्ने रियलको प्रयास हुनेछ।