एजेन्सी – इटालियन राष्ट्रिय टोली तथा युभेन्टसका दिग्गज गोलरक्षक जियानलुइजी बुफोनले क्रिस्टियानो रोनाल्डोका कारण युभेन्टसको डीएनए हराएको टिप्पणी गरेका छन्। एक मिडियासँग कुराकानी गर्नेकममा बुफोनले रोनाल्डोको आगमन पछि युभेन्टसको डीएनए नै हराएको बताएका हुन्।
टेलिभिजन टियुडीएनसँग कुराकानी गर्नेक्रम बुफोनले रोनाल्डोका कारण युभेन्टसमा एकता हराएको आरोप लगाए। रोनाल्डो आउनुभन्दा एक भएर खेल्ने युभेन्टसको टोलीले एक बन्ने डीएनए गुमाएको बुफोनको भनाई छ।
अन्तर्वार्ताका क्रममा बुफोनले युभेन्टसमा रोनाल्डोसँग दुई वर्ष बिताएको स्मरण समेत गरे। त्यसबीचमा आफूले रोनाल्डोको आगमनले टोलीमा के कस्तो नकारात्मक प्रभाव परिरहेको छ भन्ने महशुस गरेको बुफोनले बताए।
“रोनाल्डो आएकै वर्ष युभेन्टसले च्याम्पियन्स लिग जित्न सक्थ्यो । म त्यसबेला पेरिसमा थिएँ । मलाई थाहा छैन त्यसबेला क्लबमा के भयो। मैले युभेन्टस फर्केपछि दुई वर्ष रोनाल्डोसँग बिताएँ । हामीले राम्रो पनि गर्यौं । तर उनी आएपछि युभेन्टसमा टिमको रुपमा एक बन्ने डीएनए भने गुमाएको महसुस गरें”,बुफोनले भने।
रोनाल्डो युभेन्टस गएको पहिलो वर्ष बुफोन फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)मा थिए। तर अर्को वर्ष उनी युभेन्टस पुगेका थिए। त्यसबीचमा उनले रोनाल्डोसँग दुई सिजन खेलेका थिए।
रोनाल्डोको युभेन्टस बसाई
रोनाल्डो सन् २०१८ मा युभेन्टस पुगेका थिए। त्यहाँ उनले तीन वर्ष बिताए। उनले यसै वर्ष युभेन्टस छाडेका हुन्। युभेन्टसले रोनाल्डोलाई च्याम्पियन्स लिग जित्ने योजना सहित भित्र्याएको थियो। तर युभेन्टसले क्वाटरफाइनल चरण समेत पार गर्न सकेन। तीन वर्ष बिताउँदा रोनाल्डोले युभेन्टसबाट उल्लेख्य मात्रमा गोल गर्न भने सकेका थिए। रोनाल्डोले युभेन्टसका लागि १ सय ३५ खेलमा १ सय १ गोल गरेका थिए।

