मेस्सी र रोनाल्डोमा को उत्कृष्ट भनेर सोध्दा लेवान्डोस्कीले आफैंलाई रोजे, दिए गज्जबको जवाफ !

एजेन्सी – बायर्न म्युनिखका स्टार स्ट्राइकर रोबर्ट लेवान्डोस्कीले बालोन डी’ओरलाई लिएर धेरै प्रश्नहरु रहेको बताएका छन्। सन् २०२१ को दुबई अन्तर्राष्ट्रिय खेलकुद सम्मेलनमा सहभागी हुनेक्रममा लेवान्डोस्कीले बालोन डी’ओरलाई लिएर आफू भित्रै धेरै प्रश्नहरु रहेको बताएका हुन्।

गएको वर्ष फुटबलमा जित्न सम्भव सम्पूर्ण उपाधि जितेर पनि बालोन डी’ओर जित्न नसकेको लेवान्डोस्कीले बताए। स्मरण रहोस्, गएको वर्ष कोरोना भाइरस महामारीका कारण बालोन डी’ओर रद्द भएको थियो।

“मसँग बालोन डी’ओरको बारेमा धेरै प्रश्नहरू थिए। गत वर्ष यो रद्द भएको थियो। जसकारण मैले जित्न सकिन। त्यस बेला मैले जित्न सम्भव सबै जितेको थिएँ।”,लेवान्डोस्कीले भने।

त्यस्तै लेवान्डोस्कीले यस वर्ष पनि आफूले गर्न सक्ने सबै काम गरेको बताए। त्यसक्रममा लेवान्डोस्कीले यस वर्ष ६९ गोल गरेको पनि उल्लेख गरे। उनले भने,”यस वर्ष मैले एक सिजनमा ६९ गोल गरेँ। मैले गर्न सक्ने सबै गरेँ, किनभने च्याम्पियन्स लिगमा पीएसजीविरुद्धको खेलमा म घाइते भएकाले खेल्न सकिनँ।”

लेवान्डोस्कीले आफ्नो बारे सधैं सकारात्मक सोच्ने कुरा महत्वपूर्ण हुने पनि बताए। आफू अन्य खेलाडीलाई सम्मान गर्ने भएपनि आफूलाई नै उत्कृष्ट नठानी उत्कृष्ट बन्न नसकिने लेवान्डोस्कीको भनाई छ। लियोनेल मेस्सी र क्रिस्टियानो रोनाल्डोमा उत्कृष्ट भनेर प्रश्न गरिँदा उनले भने,”म लेवान्डोस्कीलाई रोज्छु।”

उनले थप भने,”मैले जुन प्रदर्शन गर्न सकेको छु, त्यसको आधारमा ऐनामा हेरेर आफैंलाई ‘तिमीले जे गर्न सक्छौ सबै गर्यौ, तिमीले ६९ गोल गर्यौ, जर्मन कप जित्यौ’ भन्न सक्छु र आफैंमा गर्व गर्न सक्छु।”

प्रकाशित : बुधबार, पुष १४, २०७८२१:४६

खेर गयो लुकाकुको गोल, इन्ज्युरी समयमा सम्हालिन नसक्दो ब्राइटनले खोस्यो अंक !