लगातार ओरालो लाग्दै सुनको भाउ, मङ्सिर महिना यता कै सस्तो भयो, कति ?

लगातार तेस्रो दिन पनि नेपाली बजारमा सुनको मूल्य ओरालो लागेको छ। हप्ताको पहिलो दिन आइतबारको तुलनामा सोमबार सुनको भाउमा वृद्धि आएपनि त्यसपछि भने लगातार गिरावट आउने क्रम जारी रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहिबार छापावाला सुनको मूल्य प्रति तोला ४ सय रुपैयाँको दरले घटेको छ। मंगलबारको तुलनामा ५ सयले घटेर बुधबार तोलाको ९२ हजार ५ सयमा कारोबार भएको छापवाला सुनको मूल्य आज बिहिबार थप ४ सयले घटेर तोलाको ९२ हजार १ सय रुपैयाँ कायम भएको छ।

त्यस्तै, तेजाबी सुनको भाउमा पनि ४ सय रुपैयाँको गिरावट आएको छ। आज नेपाली बजारमा तेजाबी सुनको तोलाको ९१ हजार ६ सय रुपैयाँमा किनबेच भइरहेको छ। बुधबार तेजाबी सुन प्रति तोला ९२ हजारमा कारोबार भएको थियो।

बिहिबारको सुनको भाउ २३ दिन यताकै सस्तो

बिहिबार कायम भएको सुनको भाउ गत २३ दिन यता कै सबैभन्दा कम रहेको छ। गत मङ्सिर २१ गते छापावाला सुन तोलाको ९१ हजार ८ सय र तेजाबी सुनको प्रति तोला ९१ हजार ३ सय कायम भएको थियो। त्यसपछिका कुनै दिन पनि सुनको मूल्य आजको विन्दुमा झरेको थिएन।

चाँदीको भाउ स्थिर

बिहिबार चाँदीको मूल्य पनि ओरालो लागेको छ। बुधबार १२ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले घटेर १२ सय ४५  भाउ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

प्रकाशित : बिहिबार, पुष १५, २०७८११:०२

हप्ताको अन्तिम दिन ह्वात्तै बढ्यो सुनको भाउ, कति पुग्यो ?