चेल्सी उपाधि होडबाट आउट, टुचेल आफैंले गरे खुलासा !

एजेन्सी – चेल्सीका प्रशिक्षक थोमस टुचेलले आफ्नो टोली प्रिमियर लिग उपाधि दौडबाट बाहिरिएको संकेत गरेका छन्। बुधबार राति प्रिमियर लिगमा ब्राइटनसँग बराबरीमा रोकिएपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा टुचेलले चेल्सी उपाधि दौडबटा बाहिरिएको संकेत गरेका हुन्।

कोरोना भाइरस संक्रमण र चोटका कारण चेल्सी प्रिमियर लिग दौडमा छ भन्ने अवस्थामा नरहेको टुचेलले बताए। टुचेलका अनुसार चेल्सी उपाधि दौडमा छ भनेर भन्नु मुर्खता हुनेछ।

“पूरा टोली भएका र सबै खेलाडी प्रशिक्षणमा रहेका क्लबहरुसँग लिगमा अगाडी आउने पूर्ण शक्ति छ। तर २३ खेलाडी फिट नभएको अवस्थामा हामीले प्रिमियर लिग जित्न सक्छौं भन्नु मूर्खता हो।”,टुचेलले भने।

२३ खेलाडी फिट नभएको अवस्थामा चेल्सीले उपाधिका लागि लड्न नसक्ने टुचेलको भनाई छ। टुचेलका अनुसार ७ खेलाडी कोरोना भाइरसको संक्रमणसँग जुधिरहेका छन् भने ५-६ खेलाडी घाइते भएका छन्।

उनले भने,”हामी यसबाट कसरी अगाडी बढ्न सक्छौं ? हाम्रा ६ खेलाडीमा कोरोना संक्रमण छ, ५-६ खेलाडी ६ हप्ता भन्दा बढी समयका लागि बाहिरिएका छन्। यस्तोमा हामीले कसरी उपाधिका लागि प्रतिष्पर्धा गर्न सक्छौं?”

चेल्सीका खेलाडीहरु लगातार घाइते भैरहेका छन्। घाइते हुनेको सूचीमा रेस जेम्सको नाम पनि थपिएको छ। ब्राइटन विरुद्धको खेलमा उनी घाइते भएका हुन्। सिजनको शुरुवातमा लगातार जित निकालिरहेको चेल्सी खेलाडीहरु घाइते हुन थालेपछि पछिल्ला खेलहरुमा कम्जोर प्रदर्शन गरिरहेको छ। पछिल्ला पाँच खेल मध्ये ३ खेलमा चेल्सीले बराबरी खेल्दै अंक गुमाएको छ।

प्रकाशित : बिहिबार, पुष १५, २०७८१५:१८

यी हुन् २०२१ का सर्वश्रेष्ठ खेलाडी, रोनाल्डो टप ५ मा पनि परेनन्, मेस्सीको नम्बर कति ?