एजेन्सी – सन् २०२१ पोर्चुगिज स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोका लागि केहि फरक रह्यो। अन्य वर्षहरुमा भन्दा यस वर्ष उनको स्तर केहि खस्किएपनि उनले नराम्रो प्रदर्शन भने गरेनन्। रोनाल्डोले सन् २०२१ मा मात्रै एक उपाधि जित्न सके। युभेन्टसमा रहेर उनले कोपा इटालिया जितेका थिए।
त्यसबाहेक उनले कुनै पनि उपाधि जित्न सकेनन्। युभेन्टसमा सन्तुष्ट हुन नसकेपछि उनी यसै सिजन आफ्नो पूर्व क्लब म्यानचेस्टर युनाइटेड फर्किए। युनाइटेड आएपछि डेब्यू खेलमै उनले दुई गोल गरे। अहिले उनी युनाइटेडको शिर्ष गोलकर्ता छन्।
सन् २०२१ भर रोनाल्डोले ६४ खेल खेल्दै ४६ गोल गर्दा ६ असिस्ट दिए। रोनाल्डोले गरेका गोल मध्ये १० गोल पेनाल्टी थिए। त्यस्तै रोनाल्डो यस वर्षको बालोन डी’ओरमा छैठौं भए।
त्यस्तै यस वर्ष भएको युरोपियन च्याम्पियनशिपमा भने रोनाल्डो उत्कृष्ट प्रदर्शन गरे। प्रतियोगितामा रोनाल्डोले सर्वाधिक ५ गोल गरेका छन्। सर्वाधिक गोल गर्दा उनले गोल्डेन बुट समेत जित्न सफल भए।
रोनाल्डोले यस वर्ष धेरै जस्ता प्रतिद्वन्दी विरुद्ध गोल गरेका छन्। तर केहि टोली विरुद्ध भने उनी निरिह सावित भएका छन्। रोनाल्डोले गोल गर्न नसकेका टीमहरुमा फियोरेन्टिना र लाजियो पनि छन्। सिरी ‘ए’मा हुँदा उनले यी दुई टोली विरुद्ध गोल गर्न सकेका थिएनन्। त्यस्तै युनाइटेड आएपछि उनले एस्टन भिल्ला विरुद्ध पनि गोल गर्न सकेनन्। सिरी ‘ए’मा हुँदा रोनाल्डोले एसी मिलान विरुद्धको खेलमा पनि गोल गर्न असफल भएका थिए।
प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर सिटी, लिभरपुल र लेस्टर सिटी विरुद्ध पनि उनले गोल गर्न सकेनन्। त्यस्तै च्याम्पियन्स लिगको गत सिजनमा रोनाल्डोले युभेन्टसबाट खेल्दा पोर्टो विरुद्धको खेलमा पनि गोल गर्न सकेका थिएनन्।
युरो कपका सर्वाधिक गोलकर्ता रहेका रोनाल्डोले प्रतियोगिताको नक आउट चरणमा बेल्जियम विरुद्धको खेलमा गोल गर्न सकेका थिएनन्। सो खेलमा पोर्चुगल पराजित भएर प्रतियोगिताबाट बाहिरिएको थियो।
त्यस्तै रोनाल्डोले विश्वकप छनौटमा सर्विया विरुद्धको खेलमा पनि गोल गर्न सकेनन्। रोनाल्डोले गोल गर्न नसकेको सो खेलकै कारण पोर्चुगलले अब विश्वकपमा छनौट हुनको लागि प्लेअफ खेल्नु पर्ने भएको छ।