एजेन्सी – म्यानचेस्टर सिटीका पूर्व डिफेन्डर मिकाह रिचर्ड्सले लिभरपुलका मोहम्मद सलाहले सन् २०२२ को बालोन डी’ओर जित्न सक्ने बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा रिचर्ड्सले सलाह प्रिमियर लिगकै सबै भन्दा महत्वपूर्ण खेलाडीको रुपमा उदाएको र बालोन डी’ओर जित्न सक्ने बताएका हुन्।
रिचर्ड्सले सलाह प्रिमियर लिगको हल अफ फेममा पर्ने खेलाडी समेत रहेको बताए। सलाह प्रिमियर लिगको महत्वपूर्ण खेलाडी रहेको र उनी जुनै पनि टीममा फिट हुन सकने रिचर्ड्सको भनाई छ।
“उनी अहिले त्यो स्तरमा पुगेका छन् जहाँ हामी उनी प्रिमियर लिगको हल अफ फेममा हुने चर्चा गर्न सक्छौं। सलाह प्रिमियर लिगको अलटाइम टीममा पर्ने अवस्थामा छन्। सलाह यति खतरनाक छन् की ८० मिनेट सम्म देखा नपरेका उनी एक्कासी कलम गर्न सक्छन्। हरेक खेलमा यसो गर्न सक्नु ‘लक’ त पक्कै होइन होला।”,रिचर्ड्सले भने।
त्यस्तै रिचर्ड्सले गोल गर्ने मामलामा सलाह रोनाल्डोको स्तरमा पुगेको टिप्पणी समेत गरेका छन्। सन् २०२१ मा शानदार फुटबल खेलेका सलाहले सन् २०२२ मा झनै राम्रो फुटबल खेल्ने रिचर्ड्सको विश्वास छ।
रिचर्ड्सले भने,”उनी अहिले क्रिस्टियानो रोनाल्डोको स्तरमा छन्। यदि सालाहका लागि २०२१ शानदार रह्यो भने २०२२ अझ बढी हुन सक्छ। अहिलेको अवस्थामा उनले PFA प्लेयर अफ द इयर जित्ने पक्का देखिन्छ।”
सलाहको प्रशंसामा उत्रिएका रिचर्ड्सले यस पटक लिभरपुलले च्याम्पियन्स लिग जित्न सकेको खण्डमा सलाहले बालोन डी’ओर जित्ने पनि बताए। उनले भने,”यदि लिभरपुलले च्याम्पियन्स लिग जित्ने हो भने सलाहले बालोन डी’ओर उठाउने उत्कृष्ट मौका पाउनेछन्।”

