काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले राजावादीहरू कराउँदैमा केहि पनि नहुने बताएका छन्। पार्टी संगठन सुदृढीकरण तथा जनजागरण अभियानका क्रममा इलाममा आयोजित कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा भट्टराईले राजावादीहरू कराउँदैमा केहि पनि नहुने बताएका हुन्।
कार्यक्रममा बोल्नेक्रममा भट्टराईले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेको अवस्थामा राजतन्त्र फिर्ता हुन नसक्ने बताए। राजावादीहरु ट्याउँट्याउँ गर्दैमा केहि नहुने भट्टराईको भनाई छ।
“राजावादीहरू ट्याउट्याउ गरेर केही हुँदैन। संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत भइसकेको अवस्थामा एकतन्त्रीय शासनको कल्पना पनि गर्न सकिँदैन”,भट्टराईले भने।
त्यस्तै भट्टराईले दुई तिहाइ जनमतको सरकार आफ्नै कुबुद्धिले पतन भएको टिप्पणी गरे। दुई तिहाइ जनमतको सरकार आफ्नै कुबुद्धिले घर न घाटको भएको भट्टराईको बुझाई छ।
जनताले विश्वास गरेर मत हालेको भए पनि केपी ओलीले संविधान माथि प्रहार गर्न खोज्दा सत्ताबाट बाहिरिनुपरेको भट्टराईले बताए। ओलीले भ्रष्टाचारको पहाड र कुशासनको शिखर निर्माण गरेको भट्टराईको आरोप छ।