समूह बनाएर किसानसँग लाखौं उठाए, कर्मचारी राखेर तलब पनि दिएनन् !

काठमाडौँ – समूह बनाएर सर्वसाधारणलाई ठग्दै आएको एक गिरोहलाई प्रहरीले पक्राउ गरेको छ। समूह बनाएर सर्वसाधारणबाट लाखौं ठगेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ नामक कम्पनीका जिल्ला संयोजक सुरेश घले र केन्द्रीय कार्यालयका प्रबन्धक युवराज उपाध्याय रहेका छन्। उनीहरु विरुद्ध दर्जनौंले उजुरी दिएपछि पक्राउ गरिएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ।

यस्तो थियो ठगी धन्दा

फारवेष्ट एग्रिकल्चर सोलुसन एण्ड ट्रेडिङ कम्पनीले तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका, दंगीशरण, शान्तिनगर र बबई गाउँपालिकालाई कार्यक्षत्र बनाएर आफ्नो ठगी धन्दा संचालन गर्दै आएको थियो। सो कम्पनीले सर्वसाधारण कृषकको उथानका लागि भन्दै सदस्यता रकम र बिमा रकम समेत उठाउने गरेको थियो।

इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी श्यामु आर्यालले दिएको जानकारी अनुसार उक्त कम्पनीले सदस्यता बनाउन र बिना रकम संकलन गर्नको लागि ४८ कर्मचारीलाई खटाएको थियो। उनीहरु मार्फत कम्पनीले विभिन्न कृषक समूह बनाउँदै ठगी धन्दा चलाएको थियो। ४८ जना नै कर्मचारीले प्रहरीमा उजुरी दिएका छन्।

बीमा बापतको ९ लाख ५० हजार रुपैयाँ, कम्पनीको सेयर बनाउने भनेर ५ जनाबाट ३ लाख रुपैयाँका दरले संकलित रकम १५ लाख रुपैयाँ, विदेश पठाइ दिने भनेर एक जनाबाट संकलित ७ लाख र ४३ जना कर्मचारीलाई ७ महिना सम्मको दिन बाँकी तलब ५५ लाख ७७ हजार ८ सय रुपैयाँ रकम समेत ठगी गरेको भन्दै ४८ जनाले उजुरी दिएको प्रहरीले जनाएको छ।

उजुरी परेका सुमन भनिने मानबहादुर देउवा भने अहिले सम्म पक्राउ पर्न सकेका छैनन्। राजनीतिक पहुँचका आधारमा उनी जोगिएको पिडितहरुको आरोप छ।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८१३:१०

‘बतास काण्ड’मा दीपकको झट्टारो, देउवालाई पनि छाडेनन् !