वल्भ्सको शिकार बन्यो युनाइटेड, रोनाल्डोले पनि सकेनन् बचाउन !

एजेन्सी – इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड घरेलु मैदानमै वल्भ्ससँग स्तब्ध बनेको छ । वल्भ्सले युनाइटेडलाई १–० ले हराएको हो ।

ओल्ड ट्राफोर्डमा सोमबार राति भएको खेलमा घरेलु टोलीलाई स्तब्ध पार्न दोस्रो हाफमा पोर्चुगिज भेट्रान मिडफिल्डर जोओ मौटिन्होले गरेको गोल नै निर्णायक बन्यो । प्रिमियर लिगमा १९ खेल खेल्दा उनले पहिलो गोल गर्दै टोलीलाई महत्वपुर्ण जित दिलाएका हुन् ।

प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले गोलका अवसर सिर्जना गरेपनि सदुपयोग गर्न सकेन । सातौ मिनेटमा मासन ग्रीनवुडको पासमा जेडान सान्चोको प्रहारलाई डिफेन्डरले ब्लक गरे । दुई मिनेटको अन्तरमा डेभिड हे गेयाले दुई बचाउ गरेपछि वल्भ्स अग्रता लिनबाट चुक्यो । १२औं मिनेटमा ड्यानियल पोडेन्स र १३औं मिनेटमा रुवेन नेभेसको प्रहारलाई गोलरक्षकले विफल तुल्याएका थिए ।

२७औं मिनेटमा क्रिस्टियानो रोनाल्डोको झन्डै ३५ यार्ड टाढाको प्रहार फितलो बन्यो । ६७औं मिनेटमा ब्रुनो फर्नान्डेसको प्रहार क्रसबारमा लाग्दै बाहिरियो । ६९औं मिनेटमा रोनाल्डो र स्कट म्याकटोमिनेको समन्वयमा बनेको मुभलाई वल्भ्सका डिफेन्डरले ब्लक गरे ।

८२औं मिनेटमा जोओ मौटिन्होले गोल गर्दै वल्भ्सलाई १–० को अग्रता दिलाए । इन्ज्युरी समयको थप गरिएको छैटौ मिनटमा ब्रुनोको प्रहारलाई गोलरक्षक जोश साले बचाउँदा युनाइटेड स्तब्ध बन्न पुग्यो ।

यो हारसँगै युनाइटेडले छैटौ स्थानमा उक्लने मौका गुमाउँदा १९ खेलबाट ३१ ऋंक जोडेर छैटौस् थानमा रहेको छ । वल्भ्स २८ अंक जोडेर आठौं स्थानमा उक्लिएको छ ।

प्रकाशित : मङ्गलबार, पुष २०, २०७८०८:४३

मेस्सी र नेयमार दुवै नहुँदा एम्बाप्पेले देखाए आफ्नो रवाफ, सिधै ह्याट्रिक गरे !