एर्लिंग हालाण्ड: बार्सिलोना र रियल म्याड्रिड बीच हुने युद्धको कारक !

रियल म्याड्रिड र बार्सिलोना, विश्व फुटबलका दुई सबैभन्दा ठूला क्लब, को नजर हाल एकै चीजमा परेको छ। फ्लोरेन्टिनो पेरेज र जोन लापोर्टा दुबै एउटै कुरा चाहन्छन् र त्यो हो बोरुसिया डर्टमण्ड स्टार एर्लिंग हालाण्ड।

मैदानमा जोसे मोरिन्हो र पेप ग्वार्डीओलाको युगमा प्रतिद्वन्द्वीको उचाइ आएको थियो। तर अहिले मैदान बाहिर दुई क्लब बीच युद्ध हुने भएको छ र विषय हुने भएका छन् डर्टमण्ड स्टार। जर्मन क्लबले नर्वेजियन स्टारलाई भविष्य बारे निर्णय गर्नको लागि जनावरी ३१ सम्मको समय दिएको छ।

लापोर्टा ट्रान्सफर मार्केटमा चिसो अपरेटरको रूपमा चिनिन्छ। बार्सिलोना अध्यक्षले हालाण्डका एजेन्ट मिनो राइओलासँग दुईवटा अवसरमा भेट गरिसकेका छन्। त्यस्तै, उनले फेरान टोरेसलाई कसैले नपत्त्याउने तरिकाले क्लबमा अनुबन्ध गरेका थिए। रियल म्याड्रिड र फ्लोरेन्टिनो पेरेज अलि बढी खुलेर काम गरिरहेका छन्, किनकि उनीहरूले आफ्नो नम्बर एक लक्ष्य पेरिस सेन्ट-जर्मेनका फरवार्ड किलियन एमबाप्पे हुन् भन्ने तथ्यलाई गोप्य राखेका छैनन्, जसलाई रियलले जुलाई १ मा नि:शुल्क सम्झौतामा हस्ताक्षर गर्ने योजना बनाएका छन्।

तर रियलको लक्ष्य एम्बाप्पे मात्र नभएर उनीसँग हालाण्डको मिलन गराउनु पनि रहेको छ। लस ब्लान्कोसले यो सार्वजनिक रूपमा स्वीकार नगर्न सक्छन् किनकि फ्लोरेन्टिनो पेरेजसँग राइओलासँग व्यवहार गर्ने उत्कृष्ट ट्र्याक रेकर्ड छैन। बार्सिलोनाले पर्खन नसक्ने भएकोले लापोर्टाले भने कदम कदममा होस् पुर्याउँदै काम गरिरहेका छन्। सन् २०२१ मा लियोनेल मेस्सीको बहिर्गमनले क्याटालान क्लबले गुमाएको प्रतिष्ठा पुन: प्राप्त गर्न आवश्यक छ, जसको लागि हालाण्ड भन्दा उत्कृष्ट विकल्प हुनै सक्दैन।

तर लापोर्टालाई बार्सिलोना भन्दा रियल म्याड्रिड हरेक हिसाबले अगाडी रहेको थाहा छ: आर्थिक रूपमा होस् वा सफलताको हिसाबले, विशेषगरी यो सिजन रियलले लिग उपाधि जित्ने पक्का जस्तै भएको कारणले। यस्तोमा यदि हालाण्ड रियल पुगे भने एम्बाप्पे-हालाण्ड-भिनीसियसको आक्रमण पङ्क्तिका साथ रियलले आउँदो दशक राज गर्ने पक्का रहेको छ। जसलाई लापोर्टा कुनै पनि हालतमा हुन नदिने प्रयासमा रहेका छन्। यस्तोमा पूर्व साल्सबर्ग स्टारको लागि आउँदो समरमा बार्सिलोना र रियल म्याड्रिड बीच युद्ध हुने देखिन्छ।

प्रकाशित : बुधबार, पुष २१, २०७८१७:०१

सन् २०२१ का उत्कृष्ट ११ खेलाडीमा मेस्सी र रोनाल्डो दुवै परेनन् ! को-को परे त ?