मेस्सीका लागि सजिलो छैन सन् २०२२, यी चार मूख्य चुनौती हुनेछन् मेस्सी सामू !

एजेन्सी – लियोनेल मेस्सीले सन् २०२२ को उत्कृष्ट सुरुवातको आनन्द उठाउन पाएका छैनन्। सन् २०२२ लाग्ने बितिकै मेस्सीलाई कोरोना भाइरस संक्रमणले समात्यो। तर कोरोना भाइरस संक्रमण मुक्त भएपछि उनी फ्रान्स फर्किसकेका छन्।

गएको वर्ष बार्सिलोनाबाट पेरिस सेन्ट जर्मेन(पिएसजी) पुगेका मेस्सी सामू कयौं चुनौती छन्। सन् २०२१ मेस्सीको जीवनकै सबै भन्दा उथलपुथल भएको वर्ष थियो। तर ती सबै कुराहरुलाई पछाडी छाडेर मेस्सीले अगाडी बढ्नुपर्नेछ।

पिएसजी पुगेयता मेस्सीले त्यति राम्रो प्रदर्शन गर्न सकेका छैनन्। फ्रेन्च लिग वानमा मेस्सीले पिएसजीका लागि ११ खेल्दा मात्रै १ गोल गरेका छन्। यो गोल संख्यालाई अगाडी बढाएर लैजाने कुरा मेस्सीको सबै भन्दा ठूलो चुनौतीको रुपमा रहेको छ। बार्सिलोनाबाट पिएसजी पुगेपछि फ्रान्सको वातावरणमा खेल्न नसकेको भन्दै जसरी उनको आलोचना भइरहेको छ, त्यस्तै बन्द गराउनको लागि मेस्सीले आफ्नो प्रदर्शनलाई सुधार गर्नुपर्ने हुन्छ।

त्यस्तै मेस्सीका अगाडी रहेको अर्को चुनौती च्याम्पियन्स लिग पनि हो। घरेलु लिगमा खासै राम्रो प्रदर्शन गर्न नसकेपनि च्याम्पियन्स लिगमा मेस्सीले ठीकै प्रदर्शन गरिरहेका छन्। अहिले सम्म च्याम्पियन्स लिग जित्न नसकेको पिएसजीलाई च्याम्पियन्स लिग दिलाउनेमा मेस्सी कटिवद्ध छन्। उत्कृष्ट प्रदर्शन गरेर च्याम्पियन्स जित्न सकेको खण्डमा मेस्सी पिएसजी लेजेण्डको रुपमा परिणत हुनेछन्।

विश्वकप सपना

मेस्सीले आफ्नो फुटबल करियरमा लगभग सबै उपाधि जितेका छन्। क्लब फुटबलमा गएको डेढ दशक भन्दा लामो समय देखि राज गरिरहेपनि उनले एक सपना पूरा हुन बाँकी छ। कोपा अमेरिका जितेपनि मेस्सीले अर्जेन्टिनालाई विश्वकप दिलाउन बाँकी छ।

सन् २०१४ मा मेस्सीले अर्जेन्टिनालाई विश्वकपको फाइनल सम्म डोर्याएपनि विश्वकप दिलाउन भने सकेका थिएनन्। यस वर्ष हुने विश्वकप मेस्सीका लागि अन्तिम अवसर हुन सक्छ।

आठौँ बालोन डी’ओर

फुटबल इतिहाँसमा मेस्सीले जति बालोन डी’ओर कुनै पनि खेलाडीले जित्न सकेका छैनन्। गएको वर्ष अर्जेन्टिनालाई कोपा अमेरिका दिलाएपछि मेस्सीले बालोन डी’ओर जितेका थिए। यस वर्ष पनि मेस्सी आफ्नो व्यक्तिगत आठौँ बालोन डी’ओरको खोजिमा हुनेछन्।

प्रकाशित : बुधबार, पुष २१, २०७८१९:२५

हालाण्डलाई लिएर ‘वार’मा बार्सिलोना र रियल म्याड्रिड !