एजेन्सी – जर्मन क्लब बोरुसिया डर्टमुन्डका नर्वेजियन युवा फरवार्ड एर्लिङ हालान्डलाई अनुबन्धन गर्न स्पेनिस महारथी रियल म्याड्रिड र क्याटलान क्लब बार्सिलोनाबीच तीव्र प्रतिस्पर्धा हुने भएको छ ।
दुवै टोलीले नयाँ सिजन (२०२२–२३) को सिजनसँगै हालान्ड अनुबन्ध गर्ने योजना बनाएका छन् । रियलका अध्यक्ष फ्लोरिन्टनो पेरेज र बार्सिलोनाका अध्यक्ष जोआन लापोर्टा जसरी पनि हालान्डलाई भित्र्याउने योजनामा छन् । ‘एल क्लासिको’ र उपाधि होडमा प्रतिस्पर्धा गर्ने बार्सिलोना र रियलबीच हालान्ड अनुबनधमा कसले बाजी मार्ने हो, त्यो हेर्न बाँकी छ ।
डर्टमुन्डले यसै जनवरीको अन्त्यसम्ममा भविष्य तय गर्न स्पष्ट पारिसकेको छ । डर्टमुन्ड पनि हालान्डलाई अहिले नै गुमाउने योजनामा छैन । नयाँ सिजनपछि हालान्डलाई महँगोमा बेच्ने डर्टमुन्डको योजना छ । तर बार्सिलोना र रियल तत्कालै हालान्ड अनुबन्ध गर्न दाउ छोपिरहेका छन् ।
बार्सिलोनाका अध्यक्ष लापोर्टाले हालान्डका प्रतिनिधि मिनो राइओलासँग दुईपटक भेट गरिसकेका छन् । यता, रियल अध्यक्ष पेरेज भने हालान्डलाई दोस्रो प्राथमिकतामा राखेका छन् । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) बाट केलियन एमबाप्पेलाई भित्र्याउन नसकेको खण्डमा रियलको ध्यान हालान्डतर्फ मोडिने छ ।
बार्सिलोनाभन्दा आर्थिक रूपमा बलियो रहेको रियलले एमबाप्पे र हालान्ड दुवैलाई अनुबन्ध गर्न सक्ने बताइएको छ । तथापि, यस विषयमा पेरेजले खुलेर बोलेका छैनन् ।