तेस्रो श्रेणीको क्लब विरुद्ध बार्सिलोनाले बल्ल-बल्ल जित निकाल्यो !

एजेन्सी – तेस्रो श्रेणीको लिनारेस डिपोर्टिभोमाथि पूनरागमन जित निकाल्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस कोपा डेल रेको प्रि–क्वाटरफाइनलमा प्रवेश गरेको छ । बार्सिलोनाले एक गोल पछि परेको अवस्थामा लिनारेसलाई २–१ ले पराजित गर्दै अन्तिम १६ मा स्थान सुरक्षित गरेको हो ।

बार्सिलोनाको पूनरागमन जितमा ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेसले उच्च प्रदर्शन गर्दा औसमाने डेम्वेले र जुट्ग्लाले गोल गरे लिनारेसका ह्युगो डियाजको गोल सान्त्वना बन्यो । १९औं मिनेटमा ह्युगोको गोलबाट घरेलु टोली लिनारेसले पहिलो हाफमा १–० को अग्रता लिन सफल भएको थियो । तर, लिनारेसले उक्त अग्रतालाई जोगाउन नसक्दा पराजित हुन पुग्यो ।

बार्सिलोनाले दोस्रो हाफमा ७ मिनेटको अन्तरमा दुई गोल गर्दै खेलमा फर्कदा जित निकाल्न सफल भयो । ६३औं मिनेटमा औसमाने डेम्वेलेले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याए । ६९औं मिनेटमा फेरान जुट्ग्लाले गोल गर्दै बार्सिलोनालाई पूनरागमन जित दिलाए ।

यस खेलबाट नै ड्यानी आल्भेसले बार्सिलोनाका लागि दोस्रोपटक डेब्यु खेल खेले । उनले पूरै ९० मिनेट मैदानमा बिताउँदै उच्च प्रदर्शन गरेका थिए ।

यस विन्टरमा बार्सिलोनामा आबद्ध भएपनि विभिन्न प्रक्रियाका कारण उनले बार्सिलोनाबाट खेल्नको लागि लामो प्रतिक्षा गर्नुपरेको थियो । यसअघि बार्सिलोनाले १४ डिसेम्वरमा बोका जुनियर्ससँग म्यारोडोना कप खेल्दा आल्भेसले खेलेपनि उनी ला लिगामा दर्ता भएको थिएन ।

प्रकाशित : बिहिबार, पुष २२, २०७८१०:३४

रोनाल्डोको अहंकारले युनाइटेड डुबेको यी पूर्व खेलाडीको दाबी !