अन्ततः पिएसजीको जिम्मेवारी सम्हाल्न तयार भए जिदान !

एजेन्सी – रियल म्याड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी)को जिम्मेवारी सम्हाल्न तयार भएका छन्। फ्रान्सका एक पत्रकारले गरेको दावी अनुसार जिदान पिएसजीको जिम्मेवारी सम्हाल्न तयार भएका हुन्।

पिएसजीले लगातार प्रस्ताव गरेपछि जिदान क्लबको जिम्मेवारी सम्हाल्न तयार भएको आरएमसीका ड्यानियल रियोलोको दावी छ। यस सिजनको अन्त्य भएसँगै जिदानले पिएसजीको जिम्मेवारी सम्हाल्ने बताइएको छ।

ड्यानियल रियोलोका अनुसार यस सिजन माउरिसियो पोचेटिनोलाई नै क्लबको जिम्मेवारी सम्हाल्न दिने पिएसजीको निर्णय रहेको छ। तर यस सिजनको अन्त्य भएसँगै उनलाई प्रतिस्थापन गरिनेछ।

रियोलो तिनै पत्रकार हुन् जसले लियोनेल मेस्सी पिएसजी आउन लागेको खबर सबै भन्दा पहिला सार्वजनिक गरेका थिए। पिएसजीको भित्रि श्रोतहरुसँग निकट रहेका उनले गरेका दावीहरु धेरै मिल्ने गरेका छन्।

रियल म्याड्रिड छाडेर खालि बसेपछि जिदान कता जाने हुन् भन्नेमा सबैको चासो छ। गएको केहि समय देखि जिदानलाई धेरै क्लबहरुले लगातार सम्पर्क गरिरहेका छन्। तर जिदान माथि सबै भन्दा बढी पिएसजीको चासो छ।

रियल म्याड्रिडमा हुँदा कयौं पटक च्याम्पियन्स लिग दिलाएका जिदानले पिएसजीलाई अगाडी बढाउने त्यहाँका अधिकारीहरुको बुझाई छ। जिदान रियल म्याड्रिड इतिहाँसकै सबै भन्दा सफल प्रशिक्षक मध्येमा पर्छन्। जिदानले प्रशिक्षक रहँदा रियल म्याड्रिडबाट २ लालिगा उपाधि, ३ च्याम्पियन्स लिग उपाधि, दुई यूइएफए सुपर कप उपाधि, दुई क्लब विश्वकप उपाधि जिते। साथै जिदान प्रशिक्षक हुँदा दुई स्पेनिस सुपर कप रियललाई दिलाएका थिए।

प्रकाशित : शुक्रबार, पुष २३, २०७८१२:०१

‘मेस्सीले पोचेटिनोलाई दह्रो झाप्पड हाने’