एजेन्सी – इजिप्टका प्रशिक्षक कार्लोस क्विरोज यति बेला धेरै नै अद्वितीय स्थितिमा छन्। फुटबल इतिहाँसकै उत्कृष्ट मध्ये एक क्रिस्टियानो रोनाल्डोलाई प्रशिक्षण दिएका उनी यति बेला धेरै नै उत्कृष्ट लयमा रहेका प्रिमियर लिग खेलाडीलाई पनि प्रशिक्षण दिरहेका छन्।
म्यानचेस्टर युनाइटेडमा हुँदा सहायक प्रशिक्षकको रुपमा रोनाल्डोसँग काम गरेका उनी यति बेला इजिप्टको जिम्मेवारी सम्हालिरहेका छन्। अफ्रिकन कपमा इजिप्टलाई अगाडी बढाउने जिम्मेवारी उनको काँधमा छ।
लिभरपुलका स्टार फुटबलर मोहम्मद सलाहको साथले इजिप्टलाई फाइनल सम्म अगाडी बढाउने उनले योजना बनाएका छन्। क्विरोजको नजरमा सलाह हालको अवस्थामा विश्वकै उत्कृष्ट खेलाडी हुन्।
अफ्रिकन कप अगाडी आयोजित पत्रकार सम्मेलनमा क्विरोजले आफूहरुसँग ग्रहकै सबै भन्दा राम्रो खेलाडी रहेको बताए। क्विरोजले हालको अवस्थामा सलाह रोनाल्डो भन्दा पनि उत्कृष्ट रहेको संकेत गरे।
“सायद तपाईंहरु मसँग सहमत हुनुहुन्छ होला कि हाम्रो टोलीमा हामीसँग यस ग्रहको सबैभन्दा राम्रो खेलाडी छन्।”,सलाहतर्फ संकेत गर्दै उनले भने,”यो सुन्दा मेरा साथि क्रिस्टियानो रोनाल्डोलाई रिस उठ्ला।”
सलाहको लय
जारी सिजनमा सलाह धेरै नै उत्कृष्ट लयमा छन्। सन् २०२१-२२ को सिजनमा सलाहले प्रिमियर लिगका २० खेलमा १६ गोल गरिसकेका छन् भने ९ असिस्ट दिएका छन्। त्यस्तै च्याम्पियन्स लिगमा पनि सलाहले उत्कृष्ट प्रदर्शन गरेका थिए। लिभरपुल अपराजित हुँदै च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्दा सलाहले ६ खेलमा ७ गोल गरेका थिए।