“बालोन डी’ओरमा एङ्गोलो कान्टे माथि अन्याय भयो”

एजेन्सी – पूर्व चेल्सी मिडफिल्डर जो कोलले सन् २०२१ को बालोन डी’ओरमा एङ्गोलो कान्टे माथि अन्याय भएको बताएका छन्। एक मिडियासँग कुराकानी गर्नेक्रममा कोलले बालोन डी’ओरमा कान्टेलाई बेवास्ता गरिएको बताएका हुन्।

कोरलसँग कुराकानी गर्नेक्रममा कोलले चेल्सीलाई च्याम्पियन्स लिग दिलाउन महत्वपूर्ण भूमिका निभाएका कान्टे सन् २०२१ को बालोन डी’ओरको वास्तविक हकदार रहेको बताए। लियोनेल मेस्सीले सन् २०२१ को बालोन डी’ओर जित्दा कान्टे पाँचौं भएका थिए। कोलका अनुसार उक्त स्थान कान्टेको थिएन।

चोटका कारण सिजनका धेरै खेल गुमाएपनि कान्टेले खेलेका सबै खेलमा राम्रो प्रदर्शन गरेको कोलले उल्लेख गरे। कान्टेको चेल्सीमा महत्वपूर्ण प्रभाव रहेको कोलको भनाई छ। कोलले भने,”मेरो विचारमा कान्टेलाई बालोन डी’ओर दिइनुपर्थ्यो। तर बालोन डी’ओरको लागि बेवास्ता गरियो। हप्ता पछि हप्ता उनले कमाल खेलेका थिए। हरेक खेलमा मैले चेल्सीमा उनको प्रभाव देखेको छु। चोटका कारण उनले सिजनको ठूलो हिस्सा गुमाए। तर खेलेका सबै खेलमा उनले उत्कृष्ट दिएका थिए।”

आफ्नो कुरा राख्दै कोलले बालोन डी’ओर वरीयतामा तेस्रो स्थानमा रहेका चेल्सीका जोर्गिन्हो भन्दा कान्टे अगाडी हुनुपर्ने समेत बताए। त्यसक्रममा कोलले विश्व कप जस्ता उपाधि समेत कान्टेले जितिसकेको उल्लेख गर्न छुटाएनन्। कोलले कान्टे आफूले देखेका सबैभन्दा उत्कृष्ट मिडफिल्डरहरू मध्ये एक रहेको पनि बताए।

“जब हामी जोर्गिन्होको कुरा गर्छौं, उनले युरोपेली फुटबलर अफ द इयर जिते र स्पष्ट रूपमा राम्रो सिजन पनि बिताए। तर प्रदर्शनको मामलामा कान्टेले उनलाई पनि पछि पारेका थिए।”,कोलले भने।

प्रकाशित : आइतबार, पुष २५, २०७८०९:४४

लियोन विरुद्धको खेल अगाडी पिएसजीलाई झड्का, मेस्सी सहित ११ खेलाडी उपलब्ध नहुने ! को-को ?