बेन्जेमा र भिनिको जोडीले फेरी कमाल गर्यो, रियलको सानदार जित !

एजेन्सी – फ्रान्सेली फरवार्ड करिम बेन्जेमा र ब्राजिली युवा विंगर भिनिसियस जुनियर चम्कदा स्पेनिस ला लिगाको शीर्षस्थानमा रहेको रियल म्याड्रिडले सानदार जित दर्ता गरेको छ । रियलले भ्यालेन्सियालाई ४–१ को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।

घरेलु मैदानमा रियलको जितमा कप्तान बेन्जेमा र भिनिले समान दुई गोल गरे । भ्यालेन्सियाका गोन्कालो गुइडेसले एक गोल फर्काए ।सान्टियागो बर्नबेउमा शनिबार राति भएको ४३औं मिनेटमा बेन्जेमाको पेनाल्टी गोलबाट रियलले पहिलो हाफमा १–० को अग्रता लिएको थियो । पेनाल्टी बक्समा डियाखावीले क्यासमिरोलाई फउल गरेपछि रेफ्रीले रियललाई पेनाल्टी प्रदान गर्दा बेन्जेमा चुकेनन् ।

५२औं मिनेटमा भिनिसियसले गोल गर्दै रियलको अग्रता दोब्बर पारे । उनले १० यार्डभित्रबाट सहज गोल गरेका थिए । ६३औं मिनेटमा भिनिले व्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गर्दै रियललाई सहज जिततर्फ अघि बढाए । उनले मार्काे एसेन्सियोको पासमा हेडमार्फत गोल गरेका थिए । जारी सिजनको लागि लिगामा उनको यो २०औं खेलमा १२औं गोल हो । उनले ४ असिस्ट पनि दिइसकेका छन् ।

७६औं मिनेटमा गोन्कालो गुइडेसले गोल गर्दै खेललाई ३–१ को अवस्थामा ल्याए । गुइडेसको पेनाल्टी प्रहारलाई गोलरक्षक थिवाउट कोर्टुवाले बचाएपनि रिवाउन्डमा गुइडेसले गोल गर्न सफल भएका थिए ।

८८औं मिनेटमा फर्लान्ड मेन्डीको पासमा बेन्जेमाले व्यक्तिगत दोस्रो तथा टोलीका लागि चौथो गोल गर्दै टोलीको जित पक्का गरे । जारी सिजनमा बेन्जेमाको यो २०औं खेलमा १७औं गोल हो । उनले ७ असिस्ट पनि प्रदान गरेका छन् ।

जितसँगै शीर्षस्थानमा रहेको रियलको २१ ख्ेलबाट ४९ अंक पुगेको छ । रियलले दोस्रो स्थानको सेभियालाई ८ अंकले पछि पारेको छ । सेभियाले दुई खेल कम खेलेको छ । पराजित भ्यालेन्सिया २० खेलबाट २८ अंक जोडेर नवौं स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, पुष २५, २०७८०८:५२

पछि परेको अवस्थामा समेत डर्टमुन्डले खेल उल्ट्यायो !