पछि परेको अवस्थामा समेत डर्टमुन्डले खेल उल्ट्यायो !

एजेन्सी – जर्मन बुन्डेसलिगामा दोस्रो स्थानमा रहेको बोरुसिया डर्टमुन्डले पूनरागमन जित निकालेको छ । डर्टमुन्डले खेलमा २–० ले पछि परेको अवस्थामा घरेलु टोली फ्रान्कफुर्टमाथि ३–२ को रोमाञ्चक पूनरागमन जित निकालेको हो ।

डर्टमुन्डको पूनरागमन जितमा थोर्गन हाजार्ड, जुडे बेलिङघम र मामुद दाहुदले गोल गरे । घरेलु टोलीका राफयल सान्तोष बोरेको दुई गोल सात्वना बन्यो ।

फ्रान्कफुर्टमा शनिबार राति भएको खेलको १५औं मिनेटमा राफयल सान्तोष बोरेले गोल गर्दै घरेलु टोलीलाई १–० को अग्रता दिलाए । २४औं मिनेटमा राफयल सान्तोष बोरेले व्यक्तिगत दोस्रो गोल गरेपछि डर्टमुन्ड पहिलो हाफमा २–० ले पछि परेको थियो ।

२–० ले पछि परेको डर्टमुन्डले दोस्रो हाफमा सुधारिएको प्रदर्शन गर्दै घरेलु टोलीविरुद्ध जित दर्ता गर्न सफल भयो । ७१औं मिनेटमा सब्सिच्युट फरवार्ड थोर्गन हाजार्डले गोल गर्दै डर्टमुन्डलाई खेलमा फर्कने संकेत दिए । ६५औं मिनेटमा जुलियन ब्रान्डको स्थानमा मैदान प्रवेश गरेको सातौं मिनेटमै एर्लिङ ब्राउट हालान्डको पासमा गोल गर्न सफल भएका थिए ।

८७औं मिनेटमा जुडे बेलिङघमले थोमस म्युनिएरको पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसको दुई मिनेटपछि मामुद दाहुदले गोल गर्दै डर्टमुन्डलाई ३–२ को प्रतिस्पर्धात्मक पूनरागमन जित दिलाए ।

जितसँगै डर्टमुन्डले शीर्षस्थानको बायर्न म्युनिखसँगको अंक दुरी छोट्याउन सफल भएको छ । डर्टमुन्डको १८ खेलबाट ३७ अंक पुगेको छ । शीर्षस्थानको बायर्नको ४३ अंक छ । पराजित फ्रान्कफुर्ट २७ अंक जोडेर सातौ स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, पुष २५, २०७८०९:०१

अन्तिम समयसम्म सम्हालिन नसक्दा बार्सिलोनालाई लाग्यो झड्का, अंक बाँड्न बाध्य भयो !