अन्तिम समयसम्म सम्हालिन नसक्दा बार्सिलोनालाई लाग्यो झड्का, अंक बाँड्न बाध्य भयो !

एजेन्सी – अन्तिम समयसम्म सम्हालिन नसक्दा क्याटलान क्लब बार्सिलोना बराबरीमा रोकिएको छ । १० खेलाडीमा समेटिएर खेलको अन्त्य गरेको बार्सिलोना घरेलु टोली ग्रानडासँग १–१ गोलको बराबरीमा रोकिएको हो ।

ग्रानडामा शनिबार राति भएको खेलमा बार्सिलोनाका लागि लुक डि जोङले गोल गर्दा घरेलु टोलीका एन्टोनियो पोर्टासले बराबरी गोल फर्काएका थिए । दुवै गोल दोस्रो हाफमा भएको थियो ।

खेलमा बल पोसेसन राख्दै घरेलु टोलीलाई दवाव बढाएपनि बार्सिलोनाले गोलको लागि दोस्रो हाफ नै कुर्नुपरेको थियो । ५७औं मिनेटमा लुक डि जोङले गोल गर्दै बार्सिलोनालाई १–० को अग्रता दिलाए । उनले ब्राजिली भेट्रान डिफेन्डर ड्यानी आल्भेसको पासमा हेडमार्फत गोल गरेका थिए ।

७९औं मिनेटमा पाब्लो गाभिरा दोहोरो पहेँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि बार्सिलोना समस्यामा परेको थियो । त्यसको फाइदा घरेलु टोली ग्रानडाले उठाउन सफल भयो । बार्सिलोना १० खेलाडीमा समेटिएको १० मिनेटपछि एन्टोनियो पोर्टासले गोल गर्दै बार्सिलोनालाई जितबाट वञ्चित गराए ।

यो बराबरीसँगै बार्सिलोना २० खेलबाट ३२ अंक जोडेर छैटौं स्थानमा यथावत रहेको छ । ग्रानडा २४ अंकसहित १२औं स्थानमा रहेको छ । बार्सिलोना शीर्षस्थानको रियल म्याड्रिडसँग १८ अंकले पछि छ । रियलले एक खेल बढी खेलेको छ ।

अर्काे खेलमा लेभान्टेले रियल मलोर्कालाई २–० ले तथा रियल सोसिडाडले सेल्टा डि भिगोलाई १–० ले पराजित गरेको छ ।

प्रकाशित : आइतबार, पुष २५, २०७८०९:४१

“बालोन डी’ओरमा एङ्गोलो कान्टे माथि अन्याय भयो”