एजेन्सी – बार्सिलोनाका लेजेण्ड खेलाडी जाभी हर्नान्देज यति बेला धेरै नै महत्वपूर्ण क्षणमा छन्। थला परेको बार्सिलोनालाई उठाएर अगाडी बढाउने जिम्मेवारी उनको काँधमा छ। युवा खेलाडी र अनुभवी खेलाडीहरुलाई मिलाएर अगाडी बढ्नुपर्ने अवस्थामा उनी छन्।
बार्सिलोनाले जाभीलाई दिर्घकालिन प्रशिक्षकको रुपमा हेरेको छ। यसैकारणले गर्दा पनि जाभी अलि बढी दबावमा छन्। ओरालो यात्रामा रहेको बार्सिलोनाले उपाधि जित्ने सम्भावना त लगभग टुंगिसक्यो। अहिले जाभीको प्राथमिकता शिर्ष चारमा अटाएर च्याम्पियन्स लिगमा स्थान बनाउने छ।
च्याम्पियन्स लिगमा स्थान बनाउनको लागि बार्सिलोनाले अब धेरै भन्दा धेरै जित निकाल्नुपर्ने हुन्छ। तर अग्रता जोगाउन नसक्दा बार्सिलोना शनिबार राति बराबरीमै रोकियो। खेलको अन्तिम समयमा गोल बेहोर्दा शिर्ष चारमा उक्लिने मौका गुमायो। ग्रानडाको घरेलु मैदानमा शनिबार राति भएको खेलमा बार्सिलोनाका लागि लुक डि जोङले गोल गर्दा घरेलु टोलीका एन्टोनियो पोर्टासले बराबरी गोल फर्काए।
ग्रानडा विरुद्धको खेलमा जित निकालेको भए बार्सिलोना शिर्ष चारमा हुने थियो। तर खेल १-१ को बराबरीमा टुंगिदा बार्सिलोना छैठौं स्थानमा सिमित भयो। खेलपछि प्रशिक्षक जाभीले शनिबारको नातिजालाई ‘लाजमर्दो’को संज्ञा दिए। खेलपछि पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा ग्रानडा विरुद्धको नतिजालाई उनले लाजमर्दो भनेका हुन्।
“यो लाजमर्दो कुरा हो तर आफ्नै गल्तीका कारण खेल बराबरीमा टुंगियो। यो अनुभवको कमी हो। रातो कार्डले हामीलाई कमजोर पक्कै बनायो। तर हामी आफ्नो गल्तीका कारण पछि पर्यौं। हामीले महत्वपूर्ण दुई अंक गुमायौं।”,जाभीले भने।