म्यानचेस्टर युनाइटेडका फरवार्ड क्रिस्टियानो रोनाल्डोले ईएसपीएनसँगको अन्तर्वार्तामा आफू ब्राजिलमा खेल्न सक्ने संकेत गरेका छन्। यसै सिजन मात्र युनाइटेड आएका ३६ वर्षीय स्टारको क्लबमा प्रभाव बारे धेरैले प्रश्न उठाएका छन्।
पूर्व रियल म्याड्रिड स्टारले गत समर ट्रान्सफर विन्डोको अन्तिम दिन युभेन्टसबाट म्यानचेस्टरको सरुवा पूरा गरेका थिए। व्यक्तिगत रूपमा उनले सिजनको सुरुवात निकै उत्कृष्ट गरेका छन्। ५ पटकका ब्यालोन डी ओर विजेताले रेड डेभिल्सका लागि यस सिजन १४ गोल गरिसकेका छन्। तर उनको प्रदर्शनले युनाइटेडलाई खासै फाईदा भएको देखिँदैन। क्लब प्रिमियर लिगको सातौँ स्थानमा रहेको छ।
यस्तोमा युनाइटेडमा रोनाल्डोको भविष्य बारे शंका उठ्न सुरु भएको छ। विभिन्न रिपोर्टहरुका अनुसार रोनाल्डोले आफ्नो भविष्य बारे छलफल गर्न आफ्ना एजेन्ट जोर्जे मेन्डेसलाई समेत इंग्ल्याण्ड बोलाएका थिए। यसै बीच हालैको अन्तर्वातापछि रोनाल्डो ब्राजिलमा खेल्ने हुन् कि भन्ने आंकलन लाउन थालिएको छ।
“ब्राजिल एउटा यस्तो देश हो जसको मैले धेरै सम्मान गर्छु, मलाई ब्राजिलको बारेमा धेरै थाहा छ। त्यहाँ खेल्ने बारे कसैलाई थाहा छैन। कसैले पनि म ३६ वर्षको उमेरमा म्यानचेस्टर युनाइटेडमा फर्कन्छु भनेर सोचेको थिएन र म यहाँ छु,” आफूलाई रोनाल्डिन्हो र रोनाल्डो नाजारियोको फ्यान घोषणा गर्ने क्रिस्टियानोले भने, “ब्राजिलमा खेल्ले ? मलाई थाहा छैन। यो अहिले मैले सोचेको भन्दा धेरै टाढा छ। तर फुटबलमा सबै सम्भव छ, मलाई थाहा छैन।”

