एस्टन भिल्ला पुग्ने बितिकै फेरियो कौटिन्होको रवाफ, डेब्यू खेलमै चम्किए !

एजेन्सी – दुई गोलको अग्रता जोगाउन नसक्दा म्यानचेस्टर युनाइटेड बराबरीमा रोकिएको छ । सब्सिच्युट ब्राजिली मिडफिल्डर फिलिपे कौटिन्होको गोलमा युनाइटेडले घरेलु टोली एस्टन भिल्लासँग २–२ गोलको बराबरी खेलेको हो ।

भिल्ला पार्कमा शनिबार राति भएको खेलमा युनाइटेडका लागि दुवै गोल ब्रुनो फर्नान्डेसले गर्दा भिल्लाका ज्याकोप राम्से र फिलिपे कौटिन्होले बराबरी गोल फर्काए ।

खेलको छैटौं मिनेटमा नै ब्रुनोको गोलबाट युनाइटेडले खेलमा सुरुवाती अग्रता लिएको थियो । उनले एलेक्स टेलासको पासमा गोल गरेका थिए ।६७औं मिनेटमा ब्रुनोले गोल गर्दै युनाइटेडको अग्रता दोब्बर पारे । तर, युनाइटेडले त्यो अग्रतालाई जोगाउन सकेन ।

७७औं मिनेटमा ज्याकोव राम्सेले गोल गर्दै घरेलु टोली भिल्लालाई खेलमा फर्कने संकेत दिए । ८२औं मिनेटमा सब्सिच्युट फिलिपे कौटिन्होले ज्याकोवकै पासमा गोल गर्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । उनले मैदान छिरेको चौथो मिनेटमा नै गोल गर्न सफल भएका थिए । उनी ६८औं मिनेटमा मोर्गान सानसनको स्थानमा मैदान छिरेका थिए ।

कौटिन्हो यसै विन्टरमा क्याटलान क्लब बार्सिलोनाबाट लोनमा प्रिमियर लिग फर्किएका थिए । उनले प्रिमियर लिग फर्र्किएको पहिलो खेलमै गोल गर्न सफल भएका हुन् । कौटिन्होले यसअघि लिभरपुलबाट प्रिमियर लिग खेलेका थिए ।

त्यसपछि थप गोल निस्कन नसक्दा खेल बराबरीमा टुंगियो । यो बराबरीसँगै युनाइटेड २० खेलबाट ३२ अंक जोडेर सातौ स्थानमा यथावत रहेको छ । भिल्ला २३ अंक जोडेर १३औं स्थानमा रहेको छ ।

प्रकाशित : आइतबार, माघ ०२, २०७८०८:४२

मेस्सी-नेयमार नहुँदा एम्बाप्पेले पूरा गरे जिम्मेवारी, पिएसजीको सहज जित !