चार वर्षपछि बालोटेली इटालीको टोलीमा फर्किए !

एजेन्सी – झन्डै चार वर्षपछि फरवार्ड मारियो बालोटेलीले इटालीको राष्ट्रिय फुटबल टोलीमा पुनरागमन गरेका छन् । इटालीले घोषणा गरेको ३५ सदस्यीय टोलीमा बालोटेली अटाएका हुन् ।

प्रशिक्षक रोबर्टो मान्सिनीले विश्वकप छनोटको प्लेअफ अन्तर्गत नर्थ म्यासेडोनियाविरुद्धको खेलका लागि घोषणा गरेको टिममा बालोटेलीलाई समेटेका हुन् । अन्तिम टोली घोषणा हुन बाँकी छ ।

इटालियन क्लब इन्टर मिलानका पुर्व स्टार ३१ वर्षीय बालोटेलीले इटालीबाट सेप्टेम्बर २०१८ मा नेसन्स लिगमा पोल्याण्डसँग १–१ को बराबरीमा खेलेका थिए । मे २०१८ मा साउदी अरेबियामाथि २–१ को मैत्रीपूर्ण जितमा उनले टोलीको लागि अन्तिम गोल गरेका थिए ।

बालोटेली र मान्सिनीबीच राम्रो सम्वन्ध रहेकै कारण उनलाई टोलीमा बोलाइएको बुझिएको छ । दुवैले इन्टर मिलान र म्यानचेस्टर सिटीमा सँगै काम गरेका थिए ।

बालोटेली टर्कीको एडना डेमिरस्पोरबाट खेलिरहेका छन् । उनले यस सिजन २१ खेलमा ९ गोल गरिसकेका छन् । सन् २०१० देखि राष्ट्रिय टोलीमा रहेका बालोटेलीले इटालीका लागि ३६ खेलमा उनले १४ गोल गरेका छन् ।

प्रकाशित : मङ्गलबार, माघ ११, २०७८०९:४०

रियल विरुद्ध नेयमार मैदान फिर्ता होलान् ?